नारायणगढ : नारायणगढमा मुख्य कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीका लागि “प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा साइबर सुरक्षा प्रशिक्षण कार्यक्रम” सम्पन्न गरेको छ । होटल गंगोत्रीमा आइतबार आयोजित कार्यक्रममा ४६ जनाको सहभागिता थियो।
संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रम दीप प्रज्वलनबाट सुरु भएको थियो। स्वागत मन्तव्य राख्दै लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौड्यालले सहकारीमा सुशासन र डिजिटल सुरक्षा एकअर्काका परिपूरक भएको बताए। उनले सदस्यको विश्वास जोगाउन समिति, उपसमिति र कर्मचारी सबै प्रविधिप्रति सचेत हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन तथा प्रशिक्षण संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले गरेका थिए। प्रशिक्षणमा सहभागीलाई मोबाइलबाटै च्याटजिपिटी, जेमिनी र क्लडजस्ता एआई प्रयोग गरी पत्र, सूचना, पोस्टर र स्टेटस तयार गर्ने अभ्यास गराइएको थियो । साथै सामाजिक सञ्जाल, फोन, एसएमएस लिंक र क्युआर कोडमार्फत हुने ठगी चिन्ने, मोबाइल तथा बैंक–वालेट खाता सुरक्षित राख्ने र ठगिएमा तत्काल गर्नुपर्ने कामबारे जानकारी दिइएको थियो । सहकारी ऐन, नियमावली र नियामकीय मापदण्डअनुसार सञ्चालकको योग्यता, निर्वाचन तथा गर्न नहुने कामबारे पनि बताइएको थियो।
प्रशिक्षक सापकोटाले एआई डराउने होइन, सचेत भएर प्रयोग गर्ने साधन भएको बताए। उनले सदस्यको व्यक्तिगत विवरण तथा ओटीपी कसैलाई नदिन र एआईले दिएको जानकारी आधिकारिक स्रोतमा भिडाएर मात्र प्रयोग गर्न आग्रह गरे।
खेल, प्रश्नोत्तर र सहभागितामूलक विधिबाट सञ्चालित प्रशिक्षणको समापन गर्दै अध्यक्ष चुकेले बदलिँदो समयमा प्रविधिको सही प्रयोग र साइबर सुरक्षाप्रतिको सचेतना सहकारीको आवश्यकता भएको बताए। उनले यस प्रकारका क्षमता विकास कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।
२०५६ सालमा स्थापित हंस सहकारीले प्रधान कार्यालय नारायणगढसहित टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रबाट सेवा दिँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij