रत्ननगर : चितवनको रत्ननगर नगरपालिका–४, देवौलीस्थित विगत १० वर्षदेखि अलपत्र अवस्थामा रहेको रत्ननगर सभा हल अब बकुलहर रत्ननगर अस्पताललाई दिने प्रक्रिया अघि बढेको छ । उक्त भवन अस्पताललाई भोगाधिकारमा उपलब्ध गराएर नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिएको हो ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र चितवन क्षेत्र नम्बर १ का संघीय सांसद एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सभा हलको स्थलगत अनुगमन गर्दै यस्तो जानकारी दिनुभएको हो ।
अनुगमनका क्रममा मन्त्री लम्सालले भक्तिनी बगैँचास्थित सभा हल बकुलहर रत्ननगर अस्पताललाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले आगामी मन्त्रिपरिषद् बैठकबाट प्रस्ताव पारित गराउने गरी काम अघि बढाइएको जानकारी दिनुभयो ।
वि.सं. २०७३ सालदेखि निर्माण सुरु भएको सभा हल एक दशक बितिसक्दा पनि पूर्ण रूपमा उपयोगमा आउन सकेको छैन । अर्कोतर्फ, बकुलहर रत्ननगर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार तथा स्थान अभावका कारण पूर्वस्वीकृति प्राप्त नर्सिङ कलेज सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।
सभा हल अस्पताललाई भोगाधिकारमा उपलब्ध गराउन सके नर्सिङ कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधारको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेको सार्वजनिक संरचनालाई स्वास्थ्य तथा शैक्षिक सेवासँग जोड्ने यो पहलले रत्ननगरसहित पूर्वी चितवनको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
अब सबैको चासो आगामी मन्त्रिपरिषद् बैठकमा हुने निर्णय र त्यसपछि नर्सिङ कलेज सञ्चालनको प्रक्रियाले गति लिन्छ कि लिँदैन भन्नेमा केन्द्रित भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij