धादिङ, १३ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान निर्माण भएको १० वर्ष बितिसक्दा पनि आवश्यक कानुन निर्माण हुन नसक्दा देश अझै पञ्चायतकालीन पुराना कानुनबाट सञ्चालन हुनुपरेको बताउनुभएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ स्थित हर्कपुर माध्यमिक विद्यालयमा आयोजित गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति रनिङ कप खेलकुद प्रतियोगिता–२०८३ को समापन समारोह एवं शैक्षिक सम्मान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले संविधान निर्माण भएको एक दशक बितिसक्दा पनि संविधानअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले संविधान निर्माण गरेको १० वर्ष पूरा भइसकेको छ । अझै पनि आवश्यक कानुन बन्न सकेको छैन । कैयौँ कानुनहरू पञ्चायतकालीन पुराना कानुनबाटै सञ्चालित हुनुपरेको छ ।”
अध्यक्ष दाहालले आगामी अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने विश्वाससमेत व्यक्त गर्नुभयो । “विविध अप्ठ्याराका बीच कानुन बन्ने प्रक्रिया चलेको छ । मलाई लाग्छ, अबको अधिवेशन कानुन अधिवेशन नै हुन्छ,” उहाँले भन्नुभयो ।
कानुन निर्माणका लागि सरकार कति तदारुकताका साथ अघि बढ्छ भन्ने कुरा सरकारकै हातमा रहेको उहाँको भनाइ थियो । सरकारले कानुन निर्माणमा कति प्राथमिकता दिन्छ, सदनलाई कति काम दिन्छ र कति जिम्मेवार बनाउँछ भन्ने कुराले कानुन निर्माणको गति निर्धारण गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, स्थानीय तहका कामलाई संघ र प्रदेशसँग जोड्ने विषयमा राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आफू सक्रिय रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय तहका समस्या बुझेर ती समस्या समाधान गर्न आवश्यक कानुन निर्माणका लागि पनि आफूले सक्रिय सहभागिता जनाउने उहाँको भनाइ थियो ।