काठमाडौँ : तेस्रो मुलुकबाट आयातित फर्सीको बियाँ पूर्वी सीमा नाका हुँदै अवैध रूपमा भारत तस्करी हुने गरेको पाइएको छ।सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानबाट ठूलो परिमाणमा फर्सीको बियाँ नियन्त्रणमा लिन थालेपछि तस्करीको नयाँ शृंखला बाहिर आएको हो।झापा र इलामको सीमाना मेचीनगर नगरपालिका-१ स्थित भालु खोपको जङ्गल क्षेत्रबाट ४८५ बोरा फर्सीको बियाँ बरामद गरिएको छ। सीमा नाका क्षेत्रबाट बरामद गरिएको फर्सीको बियाँ १९ हजार चार सय किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
झापास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ गणबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको फर्सीको बियाँ नियन्त्रणमा लिएको हो। बीओपी बाहुनडाँगीबाट खटिएको मोबाइल गस्ती टोलीले दिएको सूचनाका आधारमा फर्सीको बियाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रियामा रहेको गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिए। बरामद फर्सीको बियाँको मूल्य करिब एक करोड १६ लाख ४० हजार रुपैयाँ रहेको छ।
पछिल्लो समय झापा क्षेत्रमा विभिन्न सामानको अवैध निर्यात बढिरहेको छ। व्यापारीले चीनलगायत तेस्रो मुलुकबाट फर्सीको बियाँ नेपाल आयात गरी भारत पुर्याउने गरेको पाइएको प्रहरीले जनाएको छ।यसअघि पूर्वी नाकाबाट सुपारीको तस्करी हुँदै आएकोमा पछिल्लो समय सुपारीको स्थानमा फर्सीको बियाँ भारत पठाउन थालिएको पाइएको छ। भारत र बंगलादेशमा फर्सीको बियाँको ठूलो माग रहेको छ। फर्सीको बियाँलाई स्वास्थ्यवर्द्धक परिकार अर्थात् सुपरफुडका रूपमा प्रयोग गरिन्छ भने औषधि र कस्मेटिक उद्योगमा समेत यसको खपत हुने गरेको छ।
नेपालमा फर्सीको बियाँ आयात गर्दा १० प्रतिशत भन्सार महसुल लाग्छ। नेपालमा यसको होलसेल मूल्य प्रतिकिलोग्राम ६ सयदेखि सात सय रुपैयाँसम्म पर्छ भने सुपर मार्केट तथा पसलमा प्रशोधित र प्याक गरिएको फर्सीको बियाँ प्रतिकिलो एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ।भारतमा भने यही बियाँ नेपाली रुपैयाँअनुसार एक हजार २८० देखि दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। नेपालबाट भारत पुर्याउँदा प्रतिकिलो पाँच सय रुपैयाँसम्म नाफा हुने भएकाले तस्करहरू आकर्षित भएको सशस्त्र प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij