Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

एकैपटक हुने काम पटकपटक बन्द गरेर सरकारले नै किन दिन्छ जनतालाई सास्ती ?

एकैपटक हुने काम पटकपटक बन्द गरेर सरकारले नै किन दिन्छ जनतालाई सास्ती ?

काठमाडौं : देशकै व्यस्त र राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रदेशसँग जोड्ने लाइफलाइनका रूपमा रहेको काठमाडौं–मुग्लिन सडकखण्डमा यात्रुले पटकपटक सास्ती खेप्नुपर्ने अवस्था सिर्जना भएको छ। सडक मर्मत तथा पहिरो नियन्त्रणका नाममा करिब पाँच किलोमिटरको दूरीमा रहेका दुई स्थानमा फरक–फरक दिन सडक बन्द गर्ने जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयले यात्रु तथा यातायात व्यवसायीलाई दोहोरो मार परेको छ।जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर ४ गते सूचना जारी गर्दै घोप्टेभिरमा लगातार खसिरहेको सुक्खा पहिरो नियन्त्रण तथा सडक मर्मतका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गर्‍यो। घोप्टेभिरको कामका लागि सडक बन्द गर्ने निर्णय गरेको प्रशासनले त्यसको एक सातापछि मंसिर १३ गतेदेखि पुनः तुइन खोलामा पहिरो नियन्त्रणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने अर्को निर्णय गरेको छ।

एउटै सडकखण्डमा करिब पाँच किलोमिटरको दूरीभित्र रहेका दुई स्थानमा गर्नुपर्ने मर्मतका लागि प्रशासनले छुट्टाछुट्टै समयमा सडक बन्द गराउने निर्णय गरेपछि प्रश्न उठ्न थालेको छ– दुवै स्थानको काम एउटै चरणमा सम्पन्न गर्न सकिँदैनथ्यो? आवश्यक जनशक्ति, उपकरण र प्राविधिक टोली परिचालन गरेर एकैपटक काम सम्पन्न गर्न सकिने सम्भावनाबारे किन सोचिएन? किन एउटै सडकमा पटकपटक सवारी रोकेर यात्रुलाई सास्ती दिने निर्णय गरियो?काठमाडौंमा बिहानै यात्रा सुरु गरेका यात्रुहरू निर्धारित समयमा घोप्टेभिर वा तुइन खोला पुग्न नसके सडक खुल्ने समयसम्म घण्टौँ कुर्नुपर्ने बाध्यतामा छन्। सडक बन्द हुने समयसँग तालमेल नमिल्दा बिहानै छुटेका लामो दूरीका बससमेत निर्धारित समयमा गन्तव्यतर्फ अघि बढ्न सक्दैनन्। कतिपय यात्रुले पाँच घण्टासम्म सडक खुल्ने प्रतीक्षा गर्नुपर्ने अवस्था आउँछ। हजारौँ सवारीसाधन र यात्रु आवतजावत गर्ने राष्ट्रिय महत्त्वको राजमार्गमा यस्तो अवरोध पटकपटक सिर्जना हुँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारणले बेहोर्नुपरेको छ।

सडक मर्मत गर्नुपर्छ, पहिरो नियन्त्रण गर्नुपर्छ र यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपर्छ भन्नेमा कुनै विवाद छैन। तर मर्मतको नाममा एउटै सडकमा पटकपटक सवारी आवागमन रोक्नुपर्ने अवस्था किन सिर्जना गरियो? करिब पाँच किलोमिटरको दूरीमा रहेका दुई स्थानको काम एउटै समय र एउटै व्यवस्थापनमा सम्पन्न गर्न किन सकिएन? प्रश्न सडक मर्मतको आवश्यकतामा होइन, त्यसको योजना बनाउने र कार्यान्वयन गर्ने निकायको कार्यशैलीमा हो।नारायणगढ–मुग्लिन- काठमाडौँ  सडकखण्ड राजधानी काठमाडौंलाई गण्डकी प्रदेशसहित देशका विभिन्न जिल्ला र प्रदेशसँग जोड्ने प्रमुख मार्ग हो। दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने यो सडकमा लामो दूरीका यात्रुवाहक बस, मालवाहक ट्रक, निजी सवारीसाधन र अत्यावश्यक सेवाका गाडी निर्भर छन्। विशेषगरी काठमाडौंबाट बिहानै छुटेका बसले सडक बन्दको समय पार गर्न नसक्दा यात्रुहरू बीच बाटोमै घण्टौँ रोकिनुपर्ने अवस्था आउँछ। निर्धारित समयमा गन्तव्य पुग्ने यात्रुको योजना बिग्रन्छ। बिरामी, वृद्धवृद्धा, बालबालिका र लामो दूरीको यात्रा गरिरहेका यात्रुले थप कष्ट बेहोर्नुपर्छ। यातायात व्यवसायी तथा मजदुरको समय र सञ्चालन खर्चसमेत बढ्छ।

पाँच किलोमिटरको काममा दुईपटक बन्द किन?

घोप्टेभिरदेखि तुइन खोलासम्मको दूरी करिब पाँच किलोमिटर मात्रै छ। दुवै स्थानमा सडक मर्मत र पहिरो नियन्त्रण गर्नुपर्ने अवस्था थियो भने प्राविधिक सम्भाव्यता अध्ययन गरेर एउटै अवधिमा काम सम्पन्न गर्ने योजना बनाउन सकिन्थ्यो। आवश्यकताअनुसार दुवै स्थानमा छुट्टाछुट्टै टोली परिचालन गर्न सकिन्थ्यो। कामको प्रकृतिअनुसार एउटै समयमा सडक बन्द गरेर वा एउटै बन्द अवधिभित्र चरणबद्ध रूपमा मर्मत सम्पन्न गर्न सकिने विकल्पबारे अध्ययन गर्न सकिन्थ्यो।तर प्रशासनले एउटा स्थानमा सडक बन्द गर्ने र अर्को स्थानमा खुला राख्ने रणनीति अपनायो। यसले एउटा ठाउँको काम सकिएपछि अर्को ठाउँको कामका लागि फेरि यात्रुलाई सडकमा रोक्नुपर्ने अवस्था सिर्जना गर्‍यो।

सडक बन्द गर्दा केही सवारीसाधनलाई अर्को मार्ग वा गन्तव्यतर्फ जान सहज बनाउन खोजिएको प्रशासनको तर्क आफ्नो ठाउँमा होला। तर त्यसको मूल्य यात्रुले पटकपटक सडकमा घण्टौँ कुर्नुपर्ने अवस्थाबाट चुकाउनुपर्ने हो? एउटै चरणमा काम गर्दा व्यवस्थापनमा के कठिनाइ हुन्थ्यो? दुवै स्थानमा एकैपटक काम गर्दा सुरक्षा, उपकरण परिचालन र सवारी व्यवस्थापनमा के समस्या आउँथ्यो? प्रशासनले यी प्रश्नको प्राविधिक र व्यावहारिक जवाफ दिन सकेको छैन।

सीडीओको तर्क : एउटा ठाउँ बन्द गर्दा अर्को ठाउँबाट गाडी चलाउन सकिन्छ!

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल भने फरक–फरक स्थानमा सडक बन्द गर्नुको कारण सवारी आवागमनलाई सहज बनाउनु रहेको बताउँछन्।उनका अनुसार घोप्टेभिरमा सडक बन्द गर्दा सबै सवारी आवागमन प्रभावित हुने भए पनि तुइन खोलामा सडक बन्द गर्दा गण्डकी प्रदेशका पोखरालगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालन गर्न सकिन्छ। त्यस्तै, घोप्टेभिरमा सडक बन्द भएको अवस्थामा पनि मुग्लिन हुँदै गण्डकी प्रदेशका विभिन्न जिल्लातर्फ जाने सवारीसाधन सञ्चालन गर्न सकिने भएकाले दुवै स्थानमा एकैपटक सडक बन्द नगरी फरक–फरक समयमा बन्द गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

तर प्रमुख जिल्ला अधिकारीको यो जवाफले यात्रुको वास्तविक समस्यालाई सम्बोधन गरेको देखिँदैन। एउटा स्थानमा सडक बन्द हुँदा अर्को स्थानबाट केही सवारीसाधन सञ्चालन गर्न सकिन्छ भन्ने तर्कले एउटै सडकमा दुईपटक बन्द गर्दा यात्रुले भोग्नुपर्ने दोहोरो सास्तीको जवाफ दिँदैन।प्रशासनको काम केवल एउटा स्थानमा सडक बन्द हुँदा अर्को स्थानबाट केही सवारीसाधन चलाउन सकिन्छ भनेर हिसाब मिलाउनु मात्रै होइन। समग्र राजमार्गमा हुने आवागमन, यात्रुको समय, सवारी चाप, यातायात व्यवसायीको सञ्चालन खर्च र निर्माण कार्यको प्रभावकारितालाई एकीकृत रूपमा हेर्नु पनि प्रशासनकै जिम्मेवारी हो।सीडीओको तर्कअनुसार एउटा ठाउँमा सडक बन्द हुँदा अर्को ठाउँबाट केही सवारीसाधन चलाउन सकिन्छ। तर यात्रुले त एउटै गन्तव्यमा पुग्न दुवै ठाउँको अवरोध पार गर्नुपर्छ। एउटा ठाउँको बन्द सकिएर अर्को ठाउँमा पुग्दा फेरि बन्दको समय पर्‍यो भने यात्रुको समय कसले जोगाउने? प्रशासनले आफ्नो निर्णयलाई यात्रुको सुविधासँग जोडेर हेर्नुपर्ने होइन र?

ठेकेदारलाई निर्देशन दिने मन्त्रीको ध्यान यात्रुको सास्तीमा गएन?

यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले हालै नारायणगढ–मुग्लिन सडकखण्डकै सिग्नेचर ब्रिज निर्माणस्थल पुगेर निर्माण व्यवसायीलाई काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका छन्। निर्माणमा ढिलाइ भए ठेक्का तोड्नेसम्मको चेतावनी र निर्देशन दिने मन्त्रीको सक्रियता देखिए पनि सोही सडकखण्डमा यात्रुले भोगिरहेको पटकपटकको अवरोध र सास्तीप्रति भने मन्त्रालयको ध्यान गएको देखिँदैन।सिग्नेचर ब्रिज निर्माणमा ढिलाइ हुँदा ठेकेदारलाई निर्देशन दिन र ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन सक्ने मन्त्रीले करिब पाँच किलोमिटरको दूरीमा रहेका घोप्टेभिर र तुइन खोलाको मर्मतलाई एउटै चरणमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सक्दैनन्? सडक निर्माणको कामलाई तीव्रता दिनु सरकारको दायित्व हो भने निर्माण तथा मर्मतका क्रममा नागरिकले कमभन्दा कम सास्ती बेहोर्नुपर्ने व्यवस्था मिलाउनु पनि सरकारकै जिम्मेवारी होइन र?

निर्माण व्यवसायीलाई काममा दबाब दिने विषयमा मन्त्रालय सक्रिय देखिए पनि यात्रुको समय र सुविधासँग जोडिएको व्यवस्थापनमा त्यस्तै सक्रियता किन देखिएन भन्ने प्रश्न उठेको छ। ठेक्का व्यवस्थापन मात्रै होइन, सडक बन्द गर्ने समयतालिका, निर्माणको समन्वय र यात्रुमैत्री व्यवस्थापनमा पनि मन्त्रालयले चासो दिनुपर्ने हो।सिग्नेचर ब्रिजको निर्माणस्थलमा पुगेर ठेकेदारलाई निर्देशन दिनु मन्त्रीको जिम्मेवारी हो भने त्यही सडकमा यात्रुले भोगिरहेको सास्ती कम गर्न सम्बन्धित निकायलाई समन्वय र निर्देशन दिनु पनि उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हो। निर्माणको प्रगति र ठेक्काको समयसीमा मात्रै होइन, सडक प्रयोग गर्ने नागरिकको समय र सुविधालाई पनि मन्त्रालयले प्राथमिकतामा राख्नुपर्छ।

यातायात व्यवसायीको प्रश्न : राति काम गर्न सकिँदैन?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला मुख्य राजमार्गलाई सकेसम्म निर्बाध रूपमा सञ्चालन गर्नुपर्ने बताउँछन्। सडक मर्मत आवश्यक भए पनि त्यसका लागि वैज्ञानिक विधि अपनाउनुपर्ने उनको भनाइ छ।सिटौला सडक मर्मतका क्रममा यात्रु तथा यातायात मजदुरलाई कमभन्दा कम दुःख हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन्। आवश्यक परे रातिको समयमा समेत मर्मतको काम गरेर दिनको समयमा यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।उनको भनाइले पनि सडक मर्मतको काम कसरी गर्ने भन्ने विषयमा वैकल्पिक व्यवस्थापनको आवश्यकता औँल्याउँछ। सडकको अवस्था, पहिरोको जोखिम र प्राविधिक सम्भाव्यताका आधारमा रातिको समयमा काम गर्न सकिने हो वा होइन भन्ने अध्ययन गर्न सकिन्छ। तर दिनको समयमा सडक बन्द गर्दा यात्रुको चाप र लामो दूरीको यातायातमा पर्ने प्रभावलाई बेवास्ता गर्न मिल्दैन।

सडक बनाउने कि यात्रुलाई पटकपटक रोक्ने?

नारायणगढ–मुग्लिन- काठमाडौँ सडकखण्ड देशको यातायात प्रणालीको महत्त्वपूर्ण आधार हो। यसमा हुने सामान्य अवरोधले समेत देशका विभिन्न भागको आवागमन प्रभावित हुन्छ। त्यसैले सडक मर्मत तथा पहिरो नियन्त्रणका कामलाई सामान्य स्थानीय सडकको कामजस्तो गरी व्यवस्थापन गर्न मिल्दैन।सडकमा पहिरो खस्ने जोखिम छ भने नियन्त्रण गर्नुपर्छ। सडक बिग्रिएको छ भने मर्मत गर्नुपर्छ। तर त्यसका लागि कति समय सडक बन्द गर्ने, कुन समयमा गर्ने, कति जनशक्ति परिचालन गर्ने र यात्रुलाई कसरी कमभन्दा कम असर पर्ने गरी काम सम्पन्न गर्ने भन्ने योजना पहिल्यै बनाउनुपर्छ।पाँच किलोमिटरको दूरीमा रहेका दुई स्थानको कामका लागि फरक–फरक दिन सडक बन्द गराउने निर्णयले प्रशासनको समन्वय र कार्ययोजनामाथि प्रश्न उठाएको छ। प्रमुख जिल्ला अधिकारीले आफ्नो निर्णयलाई सवारी व्यवस्थापनको तर्कले बचाउन खोजे पनि यात्रुले भोगेको दोहोरो सास्तीको समाधान त्यो तर्कले दिँदैन। त्यस्तै, सिग्नेचर ब्रिजको ठेक्का व्यवस्थापनमा सक्रिय देखिएको मन्त्रालयले राजमार्ग सञ्चालन र यात्रुको सुविधामा पनि उत्तिकै चासो देखाउनुपर्ने हो।विकास भनेको सडकमा डोजर चलाउनु, निर्माण व्यवसायीलाई निर्देशन दिनु र ठेक्का तोड्ने चेतावनी दिनु मात्रै होइन। विकासको वास्तविक अनुभूति नागरिकले पाउनुपर्छ। निर्माण र मर्मतका क्रममा नागरिकको समय, श्रम र सुविधाको सम्मान हुनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट