Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ सम्पन्न - अश्माङ्क कार्की बने च्याम्पियन, महिलातर्फ अञ्जिला योञ्जन

ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ सम्पन्न - अश्माङ्क कार्की बने च्याम्पियन, महिलातर्फ अञ्जिला योञ्जन

गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जित्नुभएको छ। आज सम्पन्न दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेल्नुभएका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क जोड्दै उपाधि हात पार्नुभएको हो।

उपाधिसँगै कार्कीले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन तथा प्रतियोगिताको च्याम्पियनलाई प्रदान गरिने प्रतिष्ठित ‘ब्लु ज्याकेट’ प्राप्त गर्नुभयो। प्रतियोगितामा ३८ अङ्क जोड्नुभएका ब्रिगेडियर जनरल सुभाषजङ्ग थापा काउन्टब्याकका आधारमा उपविजेता बन्नुभयो।

महिला गल्फरतर्फ अञ्जिला योञ्जन ३५ अङ्कसहित विजेता बन्नुभयो भने ३३ अङ्क जोड्नुभएकी तारा कार्की चित्रकार उपविजेता हुनुभयो।

कूटनीतिक नियोगका गल्फरहरूको विधामा कर्णेल भी. सुब्रमण्यम तथा ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जित्नुभयो।

प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अङ्कसहित ऋषि अग्रवालले हात पार्नुभयो। लङ्गेस्ट ड्राइभतर्फ पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बन्नुभयो। त्यसैगरी, क्लोजेस्ट टु द पिन (पिनसिकर) अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले जित्नुभयो। मोस्ट बर्डिज (बर्डी मास्टर) अवार्ड पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले प्राप्त गर्नुभयो। पाँचौँ होलमा ‘होल इन वान’ गर्नुभएका गौरव शाहले विशेष पुरस्कार प्राप्त गर्नुभए पनि दसौँ होलमा राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन्।

ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा थ्री–क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा पहिलो दिन ९५ र दोस्रो दिन ८० गरी कुल १७५ गल्फरको सहभागिता रहेको थियो। 

विजेताहरूलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गर्नुभयो। 

अन्य सबै विधाका विजेताहरूले समेत चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन्।

मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्कले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको बैङ्क हालै अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेसनलको ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ गरी दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। साथै, बैङ्कले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैङ्क नेपाल’ को उपाधिसमेत हासिल गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट