Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

स्थानीय तह निर्वाचन दलीय कि गैरदलीय ? भरतपुरमा नागरिक बहस

स्थानीय तह निर्वाचन दलीय कि गैरदलीय ? भरतपुरमा नागरिक बहस

चितवन : स्थानीय तहको निर्वाचन दलीय वा गैरदलीय पद्धतिबाट गर्ने भन्ने विषयमा भरतपुरमा खुला नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

‘स्थानीय निर्वाचन दलीय कि गैरदलीय ? लोकतन्त्र, सुशासन र जनउत्तरदायी नेतृत्वको बहस’ शीर्षकमा आइतबार भरतपुरस्थित होटल ल्यान्डमार्कमा आयोजित कार्यक्रममा स्थानीय तहको निर्वाचन प्रणाली, नागरिक सर्वोच्चता, राजनीतिक दलको भूमिका, सुशासन र जनप्रतिनिधिको जवाफदेहिताका विषयमा विभिन्न धारणा प्रस्तुत भएका थिए।

सुभाष प्रधान, बद्री अधिकारी र राजु श्रेष्ठको पहलमा आयोजित कार्यक्रमको सञ्चालन बद्री अधिकारीले गरेका थिए। अधिकारीले कार्यक्रम आयोजनाको पृष्ठभूमि तथा औचित्यबारे जानकारी गराएका थिए भने सुभाष प्रधानले विषयगत अवधारणापत्र प्रस्तुत गरेका थिए।

अन्तरक्रियामा सहभागीहरूले स्थानीय तहमा बढ्दो दलीय हस्तक्षेप, राजनीतिक विकृति, विकास निर्माणमा राजनीतिक प्रभाव तथा जनप्रतिनिधिको जनताप्रतिको उत्तरदायित्वका विषयमा गम्भीर बहस आवश्यक रहेको औँल्याए।

गैरदलीय निर्वाचनका पक्षधर सहभागीहरूले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि राजनीतिक दलभन्दा नागरिकप्रति बढी उत्तरदायी हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले विगतका दुई स्थानीय तह निर्वाचनका उपलब्धि र चुनौतीको समीक्षा गर्दै गैरदलीय निर्वाचन प्रणालीको अभ्यास गर्न सकिने तर्क प्रस्तुत गरे। स्थानीय तहमा व्यावसायिक दक्षता भएका व्यक्तिको नेतृत्व, नागरिकको सहज पहुँच र राजनीतिक हस्तक्षेप न्यूनीकरणका लागि गैरदलीय निर्वाचन उपयोगी हुन सक्ने उनीहरूको भनाइ थियो।

त्यस्तै, राजनीतिक दलप्रति बढ्दो वितृष्णा र स्थानीय संघसंस्थामा समेत भइरहेको राजनीतिक हस्तक्षेपले दलीय व्यवस्थामाथि नै चुनौती सिर्जना गर्न सक्ने भन्दै दलहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिइएको थियो।

अर्कोतर्फ, दलीय निर्वाचनका पक्षधर सहभागीहरूले बहुदलीय लोकतन्त्रमा राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै गैरदलीय निर्वाचनले साम्प्रदायिकता, प्रतिनिधित्वको असन्तुलन तथा जनप्रतिनिधिमाथिको संस्थागत नियन्त्रण र जवाफदेहितामा समस्या निम्त्याउन सक्ने आशङ्का व्यक्त गरे। संविधानले संरक्षण गरेका समुदायको प्रतिनिधित्वमा पर्न सक्ने प्रभावबारे समेत अध्ययन गर्नुपर्ने उनीहरूको धारणा थियो।

केही सहभागीहरूले गैरदलीय निर्वाचनको अभ्यासका लागि विद्यमान संवैधानिक तथा कानुनी व्यवस्थाको समीक्षा र आवश्यक संशोधन गर्नुपर्ने धारणा राखेका थिए। निर्वाचनमा पैसाको प्रभाव, राजनीतिक दलको समर्थनबिना निर्वाचन जित्न सक्ने सम्भावना तथा गैरदलीय प्रणालीको व्यावहारिक कार्यान्वयनका चुनौतीबारे पनि छलफल भएको थियो।

सहभागीहरूले अवधारणापत्रलाई थप तथ्यपरक बनाउन विगतका दुई स्थानीय तह निर्वाचनको विस्तृत समीक्षा, राजनीतिक दलहरूको आधिकारिक धारणा तथा विषयगत अध्ययन समेट्न सुझाव दिएका थिए।

यस विषयलाई विद्यालय, कलेज, नागरिक समाज, विभिन्न सार्वजनिक मञ्च तथा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूभित्र समेत छलफलमा लैजानुपर्ने आवश्यकता औँल्याइएको थियो।

अन्तरक्रियामा दलीय र गैरदलीय निर्वाचनका पक्षमा फरक–फरक मत प्रस्तुत भए पनि लोकतन्त्रको संस्थागत विकास, सुशासन, नागरिक सर्वोच्चता, समावेशी प्रतिनिधित्व र जनउत्तरदायी नेतृत्व सुनिश्चित गर्ने दिशामा बहसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट