Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सरकारलाई नेकपाको प्रश्न–जेनजीलाई कसले हाइज्याक गरेर माइतीघरबाट बानेश्वर पुर्‍यायो ?

सरकारलाई नेकपाको प्रश्न–जेनजीलाई कसले हाइज्याक गरेर माइतीघरबाट बानेश्वर पुर्‍यायो ?

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा संलग्नलाई कारबाही नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट सांसद वर्षमान पुनले जेनजीहरूको प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने बताए । उनले युवाहरू सडकमा किन आए ?, राज्यप्रति असन्तुष्टिको कारण केहो ?, राजनीतिक नेतृत्वप्रति अविश्वास पैदा कसरी पैदा भयो ? भन्नेबारे गम्भीर हुनुपर्ने नेकपाको स्पष्ट दृष्टिकोण रहेको बताए।

उनले भने–‘हामीले २३ र २४ भदौलाई अलगअलग कोणबाट हेर्दै आएका छौं । २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासन, छिटोछरितो र भेदभावरहित सार्वजनिक सेवा प्रवाहको माग राखेर युवाहरुले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । उनीहरुको आन्दोलनलाई कसले हाइज्याक गरेर माइतीघरबाट बानेश्वर पुर्‍यायो ? कसरी १९ जनाको घटनास्थलमै ज्यान जाने गरी गोली चलाइयो ? कसको आदेशमा गोली चल्यो र भदौ २४ मा सार्वजनिक धरोहर र निजी सम्पत्तिमा आगजनी, लुटपाट गर्ने काम भयो ?’

‘सम्माननीय राष्ट्रपतिको कार्यालय, सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान, प्रहरी कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरुका निवासमा आगजनी र विश्वंश गर्ने काम भयो त्यो अक्षम्य अपराध हो । त्यसमा संलग्नहरुमाथि कुनै पनि बहानामा उन्मुक्ति हुनुहुँदैन ।’–उनले थप भने ।

उनले निहत्था कलिला बालबालिकाको निर्ममतापूर्वक हत्यामा संलग्नहरूमाथि कारबाहीको समेत माग गरे। उनले भने–‘निहत्था कलिला बालबालिकाहरुको जसरी निर्ममतापूर्वक हत्या भयो, त्यसमा संलग्नहरुमाथि पनि कारबाही हुनुपर्छ । यस सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानवअधिकार आयोगले छुट्टाछुट्टै प्रतिवेदन सरकारलाई बुझाएका छन् । म आग्रह गर्न चाहन्छु सरकारले ती दुवै प्रतिवेदन सार्वजनिक गरोस् र सिफारिस कार्यान्यवन गरियोस् ।’

आगजनी, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुलाई उन्मुक्ति नहोस् भन्दै उनले भने–‘भदौ २३ र २४ का घटनामा मुख्य प्रश्न यो हो(दोषी को हो ? देश जलाउनेहरुमाथि उपलब्ध प्रमाणका आधारमा कारबाही गरियोस् । तर, राजनीतिक आस्था, कुनै दल वा समूहसँगको आवद्धता वा सामाजिक पहिचानका आधारमा बलजफ्ती कसैलाई अपराधी करार गर्ने काम नहोस् भन्नेमा पनि सचेत गराउन चाहन्छु । म सरकारमा भएका साथीहरुलाई स्पष्ट रूपमा भन्न चाहन्छु–दोषीलाई नछोड्नुहोस्, तर निर्दोषलाई पनि नफसाउनुहोस् । यो नै कानूनको शासन हो ।’

उनले जेनजी आन्दोलन र विध्वंशबारे राज्यका संयन्त्रमाथि पनि प्रश्न उठाएका छन्। विध्वंशको सूचना थियो या थिएन ?, थियो भने सुरक्षा तयारी प्रभावकारी किन भएन ? भन्ने उनको प्रश्न थियो।

उनले जेनजी आन्दोलनलाई केवल एउटा घटनाका रूपमा समाप्त गर्ने प्रयास गर्न नगर्न चेतावनी दिए। उनले भने–‘यदि राज्यले युवाको प्रश्न सुनेन भने असन्तुष्टि फेरि अर्को रूपमा प्रकट हुन सक्छ । जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त भएको असन्तुष्टिले त्यसको स्पष्ट संकेत गरेको छ ।’

नेकपा सांसद पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन समेत चेतावनी दिए । लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहने बताउँदै उनले भने–‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट