Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रहरीको बदमासीः सवारी दुर्घटनामा नक्कली चालक खडा, निर्दोष व्यक्ति कारागारमा

प्रहरीको बदमासीः सवारी दुर्घटनामा नक्कली चालक खडा, निर्दोष व्यक्ति कारागारमा

काठमाडौं : नेपाल प्रहरीले सवारी ज्यान मुद्दामा पीडितलाई न्याय दिनु भन्दा मोटो रकम लिएर नक्कली चालक खडा गर्ने गरेको रहस्य खुलेको छ। झन्डै एक बर्ष अगाडि सल्यान जिल्लाको कपुरकोटमा पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा दोषीलाई बचाउन सल्यान प्रहरीले नक्कली चालक खडा गरेको पाइएको छ ।

लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटनामा परी चार जना मानिसको घट्नास्थलमै मृत्यु भएको घटना घटाउने वास्तविक सवारी चालकलाई छोडी नक्कली सवारी चालक खडा गरी थुनामा राखिएको पाइएको हो । सो घटनाका वास्तविक चालक देव बहादुर विक र सवारी धनी बसन्त केसीलाई बचाउने नियत राखी बर्ष ३७ को कर्ण बहादुर खड्कालाई प्रहरीले नक्कली चालक बनाएका थिए।

२०८२ असोज १२ मा देव बहादुर बिकले चलाएको सवारी दुर्घटनामा परी रुकुमपश्चिम बाफेकोट गाउँपालिका–४ बस्ने अन्दाजी बर्ष ३० का प्रकाश केसी, सोही ठाउँका वडा नम्बर ५ बस्ने अन्दाजी बर्ष ६५ का पबि केसी र अन्दाजी बर्ष ३० का शशीधर केसी, अन्दाजी बर्ष ५० का ठगेन्द्र केसीको घट्नास्थलमै निधन भएको र अर्का एक जना घाइते भएकी वीमा केसीको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको थियो । सोही घटनामा आर्थिक लेनदेनका आधारमा प्रहरीले निर्दोष व्यक्ति खड्कालाई नक्कली चालक बनाई हिरासतमा राखेर मुद्दा चलाएको रहस्य अहिले आएर सार्वजनिक भएको छ ।

समाचार अनुसार अनुसन्धानमा खटिएको प्रहरीको मिलोमतोमा सल्यानकै स्थानीय यातायात व्यवसायी न्यूटन श्रेष्ठ (९८५१२४२०६१, ९८४७९४२०६१) र नाम थाहा नभएको बुढाथोकी थर भएको मानिस मार्फत ८/९ लाख रुपैयाँ रकम लिई कर्ण बहादुर खड्कालाई चालकको रुपमा प्रस्तुत गरेर वास्तविक दोषीलाई बचाई गलत मानिसलाई सजाय दिएको पाइएको प्रहरी स्रोतले जनाएको छ ।

सोही घटनामा दोषी बनाइएका कर्णबहादुर खड्का हाल सल्यान कारागारमा कैद जीवन बिताइरहेका छन् भने वास्तविक दोषी बाहिर खुलेआम घुमिरहेका छन् ।

घटनाको अनुसन्धान अधिकृत ईलाका प्रहरी कार्यालय लुहामका तत्कालीन कार्यालय प्रमुख इन्स्पेक्टर वीरेन्द्र राज गुरुङले गरेका थिए । गुरुङ हाल जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वमा कार्यरत छन् । उनी यस अघि चितवनको जिल्ला प्रहरी कार्यालयमा मुद्दा शाखामा हुँदा समेत विवादमा तानिएका थिए ।

गृह मन्त्रालयमा उजुरी

सडक दुर्घटनामा वास्तविक चालकलाई बचाउन आर्थिक प्रलोभन, दबाब वा अन्य सेटिङमा अर्कै व्यक्तिलाई दोषी वा प्रतिवादी बनाएर प्रहरीसमक्ष पेस गर्ने प्रवृत्तिलाई नक्कली प्रतिवादी (नक्कली चालक) खडा गर्ने गैरकानूनी कार्य भएको हुँदा कानुनसम्मत कारबाही हुनुपर्ने भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेको स्रोतले जनाएको छ ।

वास्तविक दोषीलाई बचाएर नक्कली व्यक्तिलाई अभियुक्त बनाउनु वा नक्कली कागजात र लाइसेन्स पेस गर्नु गम्भीर फौजदारी अपराध तथा न्याय प्रशासनमाथिको अवरोध (अदालतको अवहेलना र प्रमाण लुकाउने र बदल्ने कसुर) रहेको हुँदा तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारी माथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुर्घटनामा मानवीय क्षति भएको तथा लापरबाही गरेको भन्दै आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाहीको लागी गृह मन्त्रालयमा उजुरी परेको स्रोतले जनाएको छ ।

प्रहरीले गठन गर्यो छानविन समिति

यसैबीच, नक्कली सवारीचालक खडा गरी निर्दोष मानिसलाई पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखेको र आर्थिक प्रलोभनमा परी वास्तविक दोषीलाई उन्मुक्ति दिएको भन्ने उजुरी सम्बन्धमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । सो उजुरीमा इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन इन्सपेक्टर वीरेन्द्रराज गुरुङले आर्थिक प्रलोभनमा परेर निर्दोष मानिसलाई पक्राउ गरी अनुसन्धानमा गम्भीर त्रुटी गरेको र वास्तविक चालकलाई भने आर्थिक प्रलोभनमा परेर उन्मुक्ति दिएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउ भनी घुस कारोबार गरिएको बैंकको स्टेटमेन्टसहित गृहमन्त्रालयमा उजुरी परेको थियो ।

स्रोतका अनुसार मन्त्रालयमा परेको उजुरीको चलानी नम्बर ६१८ मार्फत आवश्यक कारबाही एवं अनुसन्धानका लागि मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयबाट पुन प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण अनुगमन महाशाखा हुँदै थप अनुसन्धानको लागि सुपरीवेक्षण अनुगमन महाशाखाले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार मन्त्रालयमा उजुरी परेको र त्यसको बिषयमा थप अनुसन्धान भइरहेको नेपालबहसलाई बताए । नक्कली सवारी चालक खडा गरेको भन्ने उजुरी तालुक मन्त्रालय हुँदै हामी कहाँ आएको छ, उनले भने, कर्णाली प्रदेश प्रहरी कार्यालयले यस बिषयमा छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयको निर्देशन बमोजिम मैले प्रदेश प्रहरी कार्यालयको तर्फबाट दंगा प्रहरी नियन्त्रण गणका एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा दुई प्रहरी निरीक्षकसहित चार सदस्यीय गठन गरेको छु। छानबिन समितिलाई १५ दिनको समय दिएको बताउँदै उनले केही दिनपछि तथ्य बाहिर आउने र अहिले अनुसन्धानकै चरणमा रहेको बताए । अहिले अनुसन्धान भइरहेको छ, वास्तविकता के हो ? मैले एसपी साबको कमाण्डमा छानबिन समिति गठन गरेको छु। उहाँहरु सल्यानमा पुगेर काम थालनी गरिसक्नुभएको छ, बयान लिने काम पनि सुरु भएको छ ।

उनले भने, समितिको प्रतिवेदनका आधारमा प्रहरीलाई कारबाही गर्नुपर्ने देखिए कारबाही हुन्छ । जहाँ सरुवा भएपनि झिकाएर भएपनि हामी कारबाही गर्छौ, निर्दोषले सजाय पाउनु हुँदैन, दोषीले उन्मुक्ति पाउनुहुन्न भन्नेमा नेपाल प्रहरी सजग छ। अनुसन्धानमा खटिएका प्रहरी स्रोतका अनुसार सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी डा. हेमबहादुर केसीमाथि समेत अनुसन्धान शुरु गरिएको छ। समितिले तत्कालीन कार्यालय प्रमुखसमेत उत्तिकै जिम्मेवार हुने भएको हुँदा उनको समेत बयान लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर समितिले डीएसपी केसीको बयान लिएको हो। त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व सरुवा भई गएका तत्कालीन इलाका प्रहरी कार्यालय लुहानका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङलाई भने उतै झिकाएर समितिले अनुसन्धान एवं बयान थालिने स्रोतले जनाएको छ। समितिले कारागार नै पुगेर थुनामा रहेका कर्ण बहादुर खडकाको पनि बयान लिएको छ ।

छानबिन समितिमा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी निरीक्षक बजिर सिंह विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रेवन्त सेनसहितको टोलीले प्रारम्भिक रूपमा अनुसन्धान थालिएको बताइएको छ।

स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयले दिएको समय सीमाभित्र छानबिन समितिले काम गर्न नसक्ने समेत बताएको छ। १५ दिनको समय सीमा दिएको छ। हामीले यतिका दिनभित्रमा अनुसन्धान टुंग्याउन सक्दैनौ धेरै कुरा बुझ्नुपर्नेछ। बुझ्न अझै समय लाग्छ, १५ दिन समय सीमा दिएता पनि अझै लम्बिन सक्छ, स्रोतले भन्यो । स्रोत : नेपाल बहस 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij