काठमाडौँ : नेपालले १२ वर्षभन्दा बढी समयदेखि माग गर्दै आएको हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारत तयार हुने देखिएको छ।
प्रधानमन्त्री शालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा नेपालले मागिरहेको ‘एयर रुट’ प्रमुख एजेण्डा बन्ने निश्चित भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने छन् । एयर रुटकै विषयमा द्विपक्षीय छलफल गरी निष्कर्षमा पुग्न नेपाली प्रतिनिधि मण्डल नयाँ दिल्ली पुगेर फर्किएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखाका प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल एयर रुटकै विषयमा छलफल गर्न नयाँदिल्ली पुगेका थिए ।
उनीहरूले भारतको नागरिक उडड्यन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग प्रतिनिधि मण्डलले नेपाललाई आवश्यक परेको हवाई रुटको विषयमा छलफल गरेको बताइएको छ। नेपालले वर्षौंदेखि पश्चिमतर्फको एयर रुट माग्दै आए पनि भारतले दिएको छैन। नेपालले विशेषगरी, भैरहवा, नेपालगञ्ज, महेन्द्रनगर र जनकपुरका लागि हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ।
२०७१ साउन १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा पनि नेपाललाई पश्चिमतर्फबाट हवाई रुट दिने विषयमा सहमति भएको थियो। त्यतिवेला दुवै देशका अधिकारीलाई ६ महिनाभित्र हवाई रुटको विषय टुंग्याउन भनिएको थियो।
१२ वर्ष बितिसक्दा पनि भारतले नेपाललाई नयाँ हवाइ रुट दिएको छैन। भारतले थप हवाई प्रवेश मार्ग उपलब्ध नगराउँदा नेपालको अन्तर्राष्ट्रिय हवाई उडान अहिले एउटै प्रवेश विन्दुमा निर्भर रहेको छ ।।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij