Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

प्रधानमन्त्रीका राजनितिक सल्लाहकार कुमार बेनविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा जाहेरी

प्रधानमन्त्रीका राजनितिक सल्लाहकार कुमार बेनविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा जाहेरी

काठमाडौँ  : प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार बेन’ विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ। 

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत ‘झुटा प्रमाण बनाउन नहुने’ कसुरमा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिएका हुन्।

जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअगावै ब्यञ्जनकारले आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ। सन् २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति सवा ९ बजे अनुसन्धानको घेरामा रहेका सापकोटाका ती मोबाइल फोन ब्यञ्जनकारको घरमा रहेको तथ्य प्रहरीकै लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी जाहेरीकर्ताको छ।

मोबाइल फोन प्रहरीमा फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा ह्वाट्सएप र फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा चलाइएको, विभिन्न सामग्रीको स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबिच भएका केही महत्त्वपूर्ण सन्देशहरू डिलिट गरिएको विषय सार्वजनिक भएको जाहेरीमा उल्लेख छ। राज्यको उच्च सल्लाहकार पदमा रहेको व्यक्तिले प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाभन्दा बाहिर गएर डिजिटल प्रमाणमा गैरकानुनी पहुँच पुर्‍याउनु गम्भीर विषय भएको ठहर जाहेरीमा गरिएको छ। यसले अनुसन्धान प्रभावित पार्नुका साथै प्रमाण नष्ट गर्ने र गोपनीयताको हक उल्लङ्घन गर्ने कार्य भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ।

ब्यञ्जनकारमाथि प्रहरी नियन्त्रणमा रहेको डिजिटल प्रमाणमा गैरकानुनी पहुँच पुर्‍याएको, प्रमाण नष्ट गरेको तथा पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको मुख्य अभियोग लगाइएको छ। 

जेनजी मुभमेन्ट नेपालले आवश्यक प्रमाण तथा सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत जाहेरीसाथ पेस गर्दै मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा प्रचलित कानुनबमोजिम निष्पक्ष अनुसन्धान गरी दोषी देखिए हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट