काठमाडौँ : काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ । बुधबार आयोजित सुरुङको ‘ब्रेकथ्रु’ समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ सीले निर्माणका बाँकी कामलाई तीव्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताएका हुन् ।
सुरुङ निर्माणको आगामी चरणमा ‘सेकेन्डरी लाइनिङ’ र सहायक संरचनाको कामलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए । निर्माण प्रक्रियाको कडाइका साथ पालना गर्दै सम्भावित जोखिमको निरन्तर पहिचान र व्यवस्थापन गरिने उनले स्पष्ट पारे । प्रतिनिधि वाङ सीका अनुसार महादेवटार सुरुङ निर्माणका क्रममा कोभिड–१९ महामारी र हिमाली क्षेत्रको जटिल भूगर्भीय अवस्थाका कारण अनेकौँ चुनौती सामना गर्नुपरेको थियो । कमजोर चट्टानी संरचना र जटिल भूगर्भीय बनावटले निर्माण कार्यलाई थप कठिन बनाएको उनले उल्लेख गरे । यस्ता चुनौतीका बाबजुद प्राविधिक नवप्रवर्तन र प्रभावकारी व्यवस्थापनमार्फत सुरुङको ‘ब्रेकथ्रु’ गर्न सफल भएको उनको भनाइ छ ।
आयोजनाको यस उपलब्धिमा नेपाल सरकार, नेपाली सेना, परामर्शदाता, आयोजना साझेदार तथा नेपाली, चिनियाँ र कोरियाली इन्जिनियर, प्राविधिक र श्रमिकको सामूहिक योगदान रहेको वाङ सीले बताए । कम्पनीले बाँकी निर्माण कार्य पनि सबै पक्षसँगको सहकार्य र आपसी विश्वासका आधारमा सम्पन्न गर्ने जनाएको छ । काठमाडौँ–तराई द्रुतमार्ग आयोजना नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि बन्ने विश्वाससमेत उनले व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij