Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

लक्ष्य १ अर्ब ९६ करोड, उठायो २ अर्ब ५ करोड

लक्ष्य १ अर्ब ९६ करोड, उठायो २ अर्ब ५ करोड

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभागले कार्तिक महिनासम्म १ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिएकाो थियो । तर कार्यालयले त्यो भन्दा पनि बढी २ अर्क ५ करोड संकलन गरेको हो ।

लक्ष्यको १०५ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको यस कार्यालयमा करदाताहरूको सक्रिय सहभागिताका कारण लक्ष्य भेटाउन सफल भएको उनको भनाई छ ।

‘हामीलाई विभागले कार्तिक मसान्तसम्मका लागि एक अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो, दुई अर्ब पाँच करोड रुपैयाँ असुल गर्न सफल भएका छौँ,’ उनले भने, ‘कास्की र स्याङ्जा जिल्लाका करदाता तथा व्यवसायीहरूको महत्वपूर्ण योगदानका कारण यो उपलब्धि सम्भव भएको हो ।’ आगामी दिनमा पनि यही क्रम जारी रहने र यस वर्षको वार्षिक लक्ष्य पूरा गर्न सकिनेमा विस्वस्त रहेको उनले बताए ।

कार्यालयले यो वर्षभरीमा ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । कात्तिक महिनामा पनि ४५ करोड १८ लाख १ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । तर, ३२ करोड ७ लाख ३२ हजार रुपैयाँ मात्रै उठाउन सकेको छ । चाडवाडको महिना र कम कार्यालय खुलेको हुँदा अपेक्षाकृत राजस्व उठ्न नसकेको कार्यालयले जनाएको छ ।

तुलनात्मक विश्लेषण गर्दा आयकर, अन्तःशुल्क र अन्य शीर्षकले समग्र असुलीलाई धानेका छन् भने मूल्य अभिवृद्धि कर, घर बहालकर र व्याजकरको अवस्था कमजोर देखिएको छ । कात्तिकमा ९७ प्रतिशत संकलन भएको आयकर कात्तिक मसान्तसम्ममा लक्ष्यको १२९ प्रतिशत अर्थात् १ अर्ब २६ करोड ८२ लाख ४९ हजार रुपैयाँ उठेको छ ।

वर्षभरीमा ५ अर्ब ७५ करोड आयकर संकलन गर्ने लक्ष्य लिइएकोमा १ अर्ब ३५ करोड ५६ लाख संकलन भैसकेको छ । अन्तःशुल्क पनि २७ करोड ४० लाख संकलन गर्ने लक्ष्य रहेकोमा ९ करोड ९६ लाख संकलन भैसकेको कार्यालयले जनाएको छ । घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम देखिएको छ । हालसम्म घरबहालकर १ करोड ७१ लख, ब्याजकर ७ करोड २ लाख, मुल्य अभिवृद्धिकर ५४ करोड ९० लाख र अन्य शूल्क ३ करोड २० लाख संकलन भैसकेको छ ।

नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानाले बताए । सरकारले आर्थिक ऐनमार्फत करदाताहरूका लागि हालसम्मकै बृहत् छुट तथा सहुलियतका स्किमहरू उपलब्ध गराएको उनको भनाइ छ । व्यवसाय सञ्चालन गरी करमा दर्ता नभएका, व्यवसाय दर्ता गरेर पनि कारोबार तथा विवरण नबुझाएका र कर तिर्न बक्यौता बाँकी रहेका करदाताहरूका लागि जरिवाना तथा ब्याज छुटसहित स्किममा सहभागी हुने विशेष व्यवस्था गरिएको उनले सुनाए ।

‘विगतमा कहिल्यै नआएको यति धेरै छुटका स्किमहरू अहिले दिइएको छ,’ ढुंगाना भन्छन्, ‘पुस मसान्तपछि यस्ता छुटका सुविधा दिन सकिने खालको छैन । त्यसपछि ठूलो कर दायित्व पर्न सक्ने भएकाले समयमै छुट सुविधाको लाभ लिनुहोला ।’ कार्यालयले छुट सुविधाबारे झण्डै ५० हजार करदातालाई एसएमएसमार्फत जानकारी पठाएको छ । यसैबीच, कार्यालयले मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा कर सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ । मंगलबारदेखि सुरु भएको सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट