काठमाडौँ : नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टीप्रतिको धरमराउँदै गएको जनविश्वास पुनः आर्जन गर्न आत्मसमीक्षा गर्दै सङ्गठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएकी छिन् । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा बोल्दै सचिव अर्यालले पार्टीलाई शक्तिशाली र बलियो बनाउने विषय अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने बताएकी हुन् ।
अब अरूले के गरे भन्नुभन्दा पनि एमालेले आफूलाई कसरी सुधार्न सक्छ भन्ने प्रश्नमा केन्द्रित हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । पार्टीका कमजोरी स्वीकार गर्दै जनताको कुरा सुन्ने, जनतासँग छलफल गर्ने, पार्टीका धारणा स्पष्ट पार्ने र नयाँ सदस्यलाई पार्टीमा आबद्ध गराउने अभियानमा लाग्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा अर्यालले अरूले केही गरेनन् भनेर उम्किने खालको स्थिति बन्न नहुने स्पष्ट पारिन् । उनले भनिन्, ‘हामीले जनताको कुरा सुन्ने, जनतासँग बसेर छलफल गर्ने, जनतालाई प्रस्टसँग सम्झाउने र पार्टीमा आबद्ध गर्ने काममा लाग्नुपर्छ । प्रश्न ठड्याउने नाममा एउटै विषय सधैँभरि बोकिरहने र काममा नजाने कुराले पार्टीलाई बलियो बनाउन सकिँदैन । तसर्थ अब हामीले प्रश्न गर्ने मात्र होइन, प्रश्नको जवाफ दिने पनि हामी नै हौँ भन्ने हेक्का राख्दै जिम्मेवारी वहन गर्नुपर्छ ।’
पार्टीका विभिन्न भूगोलबाट आएका नेता तथा कार्यकर्ताले जनमत कमजोर हुँदै गएको महसुस गरेको उल्लेख गर्दै सचिव अर्यालले त्यसका कारणबारे गम्भीर छलफल गरी समाधान खोज्नुपर्ने बताइन् । सरकारको पछिल्लो सात महिनाको गतिविधिले एमालेबाहेक अरूले देश बनाउन नसक्ने पुष्टि गरेको उनको दाबी छ । देश निर्माण गर्ने शक्ति एमाले नै भएकाले आफ्नो पुरानो राजनीतिक पहिचान पुनःस्थापित गर्न लाग्नुपर्नेमा उनले जोड दिइन् ।
राष्ट्रिय भेलाबाट फर्किँदा नेता तथा कार्यकर्ताले पार्टीका कमजोरीलाई छाडेर सशक्त भएर कार्यक्षेत्रमा जानुपर्ने अर्यालको भनाइ छ । स्थानीय कमिटीमा देखिएको गतिरोध अन्त्य गर्ने, निष्क्रिय कार्यकर्तालाई सक्रिय बनाउने र जिम्मेवारी तथा दायित्व स्पष्ट गरी सङ्गठन निर्माणमा जुट्न उनले निर्देशन दिइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij