चितवन : दुर्गम बस्तीका बालबालिकाको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यसहित चितवनको इच्छाकामना गाउँपालिकाका ४५० जना विद्यार्थीलाई ट्र्याकसुट सेट र स्कुल ब्याग वितरण गरिएको छ। न्यू वे फाउन्डेसनको पहल तथा समाजसेवीहरूको सहयोगमा चितवन निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत इच्छाकामना गाउँपालिकाका चारवटा आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा चेपाङ समुदायका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो।गाउँपालिकाको भाराङ र सिराइचुली क्षेत्रका विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालय जाने उमेरका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र पोसाक उपलब्ध गराउँदै उनीहरूको अध्ययनप्रतिको रुचि र आत्मविश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई ट्र्याकसुट सेट र स्कुल ब्याग हस्तान्तरण गरिएको थियो। दैनिक विद्यालय आवतजावत गर्ने क्रममा आवश्यक पर्ने सामग्री प्राप्त गरेपछि विद्यार्थीहरूमा खुसी देखिएको थियो। आर्थिक अभावका कारण बालबालिकाको विद्यालय जीवनमा पर्ने कठिनाइलाई केही हदसम्म कम गर्न यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।यस मानवीय अभियानमा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की महाधिवेशन प्रतिनिधि अस्मिता पोखरेल भट्टराई र समाजसेवी एवं युवा व्यवसायी सुनिल श्रेष्ठले सहयोग गरेका थिए। उनीहरूको सहयोग र न्यू वे फाउन्डेसनको पहलमा दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरमा रास्वपा महाधिवेशन प्रतिनिधि ध्रुव केसीले समन्वय तथा सहजीकरण गरेका थिए। कार्यक्रममा भरतपुर महानगर सभापति सीता ज्ञवाली, उपसभापति दिवाकर राज श्रेष्ठ, बागमती प्रदेश सदस्य राधिका तिमिल्सिना, भरत घिमिरे, उषा शर्मा जोशी, गीता रायमाझीलगायतको उपस्थिति रहेको थियो। त्यस्तै, इच्छाकामना गाउँपालिका सभापति जितबहादुर गुरुङले स्थानीयस्तरमा समन्वय र सहजीकरण गरेका थिए।विशेषगरी चेपाङ समुदायको बसोबास रहेका दुर्गम बस्तीमा शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा अझै पनि सहज पहुँचको चुनौती छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालयका लागि आवश्यक पोसाक, झोला तथा अन्य सामग्री जुटाउनसमेत कठिन हुने अवस्था छ। यस्तो परिस्थितिमा विद्यार्थीलाई लक्षित गरी गरिने सहयोगले उनीहरूको विद्यालय जीवनलाई सहज बनाउनुका साथै शिक्षाप्रति थप उत्साहित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएकाले उनीहरूलाई आवश्यक वातावरण र अवसर उपलब्ध गराउनु समाजको साझा जिम्मेवारी हो। राज्यका नियमित शैक्षिक कार्यक्रमसँगै सामाजिक संस्था, समाजसेवी तथा सहयोगी मनहरूबाट हुने यस्ता पहलले शिक्षाको पहुँच विस्तार र सामाजिक उत्तरदायित्वको भावना विकासमा योगदान पुर्याउन सक्छन्।न्यू वे फाउन्डेसनको पहलमा सम्पन्न यस कार्यक्रमले दुर्गम क्षेत्रका विपन्न तथा चेपाङ समुदायका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने प्रयासलाई थप उजागर गरेको छ। सहयोगलाई केवल सामग्री वितरणमा सीमित नराखी आगामी दिनमा पनि यस्ता बस्तीका बालबालिकाको शिक्षा, अवसर र आवश्यकतासँग जोडेर निरन्तरता दिन सके यसको प्रभाव अझ अर्थपूर्ण हुने देखिन्छ।
चार विद्यालयका ४५० विद्यार्थीलाई लक्षित गरी गरिएको यो सहयोगले दुर्गम बस्तीका बालबालिकाको शिक्षामा समाजको साथ, सहकार्य र मानवीय संवेदनाको महत्वलाई पुनः स्मरण गराएको छ।