Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

उदयपुर सामुदायिक वनको आम्दानी १ करोड ७ लाख, पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता

उदयपुर सामुदायिक वनको आम्दानी १ करोड ७ लाख, पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता

चितवन : कालिका नगरपालिका–७ स्थित  उदयपुर सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उदयपुर पार्कमा सुरु भएको छ। सभामा समूहका अध्यक्ष शंकर लामाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उदयपुर पार्कमा पर्यटकीय गतिविधि बढाउन स्विमिङ पुल, सभाहल तथा संग्रहालय निर्माण गर्ने योजना अघि सारेका छन्।त्यसैगरी उपभोक्ताको आयआर्जन वृद्धि गर्न फलफूलका बिरुवा वितरण तथा सीपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रम पनि अघि सारिएको छ। समूहले आर्थिक वर्ष २०८२/०८३ मा झन्डै १ करोड ७  लाख रुपैयाँ आम्दानी गरेको विवरण प्रस्तुत गरिएको छ।

कार्यक्रममा कार्यवाहक लेखा संयोजक रामचन्द्र दुवाडीले लेखा प्रतिवेदन, कोषाध्यक्ष कोपिला पन्त अधिकारीले आर्थिक प्रतिवेदन र सचिव अनिता कुमारी शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले वन संरक्षणमा उपभोक्ताको सक्रियता कम देखिएको भन्दै चिन्ता व्यक्त गरे। वन संरक्षण समितिका पदाधिकारीको मात्र जिम्मेवारी नभई आम उपभोक्ताको साझा दायित्व भएको उनले बताए।कालिकाको फोहोर व्यवस्थापनमा उदयपुर सामुदायिक वनले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नगरप्रमुख रेग्मीले वनको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा संस्थापक उपाध्यक्ष कमला देवकोटालाई सम्मान तथा उत्कृष्ट कर्मचारी डोल्मा डिमडुङलाई पुरस्कृत गरिएको थियो।सभामा नगर उपप्रमुख विमला तामाङ, वडाध्यक्ष कमलराज मोक्तान, वन अधिकृत देवीप्रसाद पौडेल, पूर्वअध्यक्ष केशव लामा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।समूहका अध्यक्ष शंकर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञानु कुमालले  स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव अनिता कुमारी शर्माले गरेकी थिइन्। अधिवेशनले समूहको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट