Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

वासिङ्टन डिसी : इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचर निकायको सङ्केत रहेको सिएनएनले जनाएको छ ।गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी भने देखिएको छैन । आक्रमण गर्ने निर्णय भएमा प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ । यद्यपि, उक्त योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ वा छैन भन्ने विषयमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ ।

अमेरिकाभित्रै बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ । यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ । यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ ।यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँग टेलिफोन कुराकानी गर्दै बहराइनमाथि इरानले गरेको आक्रमणको कडा निन्दा गरेका छन् । उनले खाडी क्षेत्रका साझेदार मुलुकहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धमा परिणत नहुने बताएका छन् । फक्स न्युजसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भए पनि मध्यपूर्वमा लामो सैन्य प्रतिबद्धता कायम राख्ने अमेरिकी नीति नरहेको स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले अनुकूल परिणामसहित वर्तमान द्वन्द्व अन्त्य गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट