एजेन्सी : दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीमा भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन।
प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो। घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको छैन।
त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित अनौपचारिक बस्तीको एउटा झुपडीमा गोली लागेका अवस्थामा नौ जनाको शव फेला परेको थियो। आइतबार राति भएको उक्त घटनामा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन।
प्रहरीका अनुसार जेफ्सभिलमा मारिनेमा छ पुरुष र तीन महिला छन्। उनीहरूमध्ये बालबालिका पनि थिए वा थिएनन् भन्नेबारे प्रहरीले तत्काल पुष्टि गरेको छैन। घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी एकाइले गरिरहेको छ।
गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीका अनुसार यी हत्याहरू गत वर्ष साउल्सभिल नजिकैको अर्को अनौपचारिक बस्तीमा भएको गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताइएको छ। उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।
दक्षिण अफ्रिकामा पछिल्लो एक वर्षयता आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटनाहरू बढेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij