Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

क्रिमिया पुलमा युक्रेनका १ हजार ३३६ ड्रोन प्रहार

क्रिमिया पुलमा युक्रेनका १ हजार ३३६ ड्रोन प्रहार

काठमाडाैँ : युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ। आक्रमणबाट पुलमा ठुलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन्।

रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठुलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले आक्रमणमा मानवीय क्षति भएको जानकारी दिएका छैनन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका करिब ६०० ड्रोन रोकिएको बताए।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता क्रिमिया पुल युक्रेनको प्रमुख निशानामा पर्दै आएको छ । यसअघि सन् २०२२ को अक्टोबरमा विस्फोटक पदार्थ बोकेको ट्रक पुलमा विस्फोट हुँदा महिनौँसम्म आवागमन प्रभावित भएको थियो ।

युक्रेनले आफ्ना प्रत्याक्रमणलाई रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जवाफ भन्दै आएको छ । रुसले युक्रेनी सहर र ऊर्जा पूर्वाधारमा गरेको आक्रमणबाट सयौँ सर्वसाधारण मारिएको तथा लाखौँ मानिस विद्युत् र ताप सुविधाबाट वञ्चित भएको किएभको दाबी छ ।

यसैबिच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि ठोस प्रगति हुन सकेको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेना तैनाथ गरिए त्यसलाई युद्धको निरन्तरताका रूपमा लिने चेतावनी दिए। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने अमेरिकाले नेटो सदस्यता दिने प्रस्तावसँगै केही भूभाग छाड्न सुझाव दिएको बताए।


चीनले नोभेम्बर १९ मा शेन्जेनमा राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनसँग वार्ता गर्ने पुष्टि गरेको छ। बेइजिङले उक्त भेटमा विश्व शान्तिबारे छलफल हुने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार त्रिपक्षीय वार्तामा युक्रेन युद्ध मुख्य विषय बन्ने अपेक्षा गरिएको छैन।

जेलेन्स्कीले भने उक्त बैठकले सन् १९४५ को याल्टा सम्मेलनमा जस्तै ठूला शक्तिहरूले साना देशको भविष्य उनीहरूको सहभागिताबिना निर्धारण गर्ने जोखिम रहेको चिन्ता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट