तनहुँ : तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान उत्साहित भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटारका महिलाले यस वर्ष तिहारमा रु १० लाखको सयपत्री फूल बिक्री गरेका छन् । त्यसैगरी आँबुखैरेनी गाउँपालिका–२ र ३ का किसानले रु एक लाखको फूल बिक्री गरेका छन् ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार गत कात्तिक १३ र १४ गते परेको वर्षाका कारण फूलखेतीमा करिब २५ प्रतिशत क्षति पुगेको थियो । वर्षाले केही फूलमा क्षति पुर्याए पनि किसानले सोचेअनुसारकै आम्दानी गर्न सफल भएको उनले जानकारी दिए ।
यान्चोकटारका महिलाले गत वर्षको तिहारमा रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । यस वर्ष बिक्री रु एक लाखले बढेको छ । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानमा फूलखेती विस्तार गर्ने उत्साह थपिएको छ ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङले तिहारमा आफूहरूले उत्पादन गरेको फूलले राम्रो बजार पाएपछि उत्साहित भएको बताइन् । तीन वर्षअघि सुरु गरेको व्यावसायिक फूलखेतीले अहिले राम्रो आम्दानी दिन थालेको उनको भनाइ छ ।
स्थानीय महिलाले सुरु गरेको सामूहिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । समूहमा ४५ जना महिला आबद्ध छन् । सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै नभई आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने माध्यम बनेको अध्यक्ष गुरुङले बताइन् ।
पहिले सामान्य खेतीपातीमा सीमित रहेका महिलाले समूह बनाएर फूलखेती सुरु गरेका थिए । सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेतीले बजार पाउन थालेपछि उनीहरूले क्रमशः क्षेत्रफल विस्तार गर्दै लगेका हुन् ।
Nabil bank
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनले बजार पाउँदा किसानलाई बिक्रीको समस्या कम भएको छ । आफ्नै गाउँमा उत्पादन भएको फूल स्थानीय बजारमा खपत हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम भएको छ ।
वर्षाका कारण फूलखेतीमा क्षति भए पनि किसानले अपेक्षाअनुसार आम्दानी गर्नुलाई गाउँपालिकाले व्यावसायिक फूलखेतीको सकारात्मक उपलब्धिका रूपमा लिएको कृषि शाखा प्रमुख केसीले बताए ।
उनले भने, “स्थानीय महिलाको मेहनत, सामूहिक लगानी र बजारको मागले सयपत्री फूलखेतीलाई व्यावसायिक रूप दिन सहयोग पुगेको छ । यसले ग्रामीण क्षेत्रमा उपलब्ध जमिनको सदुपयोग गर्दै सामूहिक खेतीमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिने सम्भावनासमेत देखाएको छ ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij