Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

एकादशी मेलाले उठाउँदै गोलाघाट

एकादशी मेलाले उठाउँदै गोलाघाट

गोलाघाट : भरतपुर–२८ स्थित गोलाघाटमा हरेक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाउँदै लगेको छ । यस क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले चितवन–गोलाघाट पर्यटन विकास समितिको अयोजनामा विगतका वर्षमा जस्तै यसवर्ष पनि एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ ।एकादशीको दिन भगवान् विष्णुको पूजाआराधना, नदीमा स्नान, दर्शन तथा धार्मिक गतिविधिमा सहभागी हुन आउने श्रद्धालुहरुको उपस्थितिले यस क्षेत्रलाई उत्सवमय बनाउने चितवन–गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमाल वताउँछन् । मेला केवल पूजाआजा र दर्शनमा सीमित नहुने भन्दै यसले स्थानीय समुदायको भेटघाट, सामाजिक सद्भाव, परम्पराको निरन्तरता र स्थानीय व्यापार व्यवसायलाई समेत चलायमान बनाउने र मेलाले गोलाघाट क्षेत्रको बृहत् प्रचारप्रसार र व्यवसाय बढ्ने उनले बताए ।

गोलाघाट केवल नदीकिनारको एउटा बस्ती वा भौगोलिक क्षेत्र मात्र नभएर धार्मिक विश्वास, ऐतिहासिक स्मृति, सांस्कृतिक परम्परा र पर्यटकीय सम्भावना बोकेको महत्त्वपूर्णस्थल पनि रहेको साथै नारायणी नदीको कञ्चन जलप्रवाह, नदीकिनारको मनोरम प्राकृतिक दृश्य, धार्मिक आस्था र स्थानीय समुदायको मौलिक संस्कृतिको सङ्गम गोलाघाट भएको उनको बताए ।गोलाघाटको पहिचान नारायणी र राप्ती नदीको सङ्गममा मात्र सीमित नरहेको भन्दै यहाँ धार्मिक आस्था, ऐतिहासिक तथा सांस्कृतिक विरासत र मौलिक समुदायको जीवनशैली साथै प्रकृतिले दिएको अनुपम सौन्दर्यलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण अवसर एकादशी मेला रहेको उनले बताए । एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रममा लोकदोहोरी कलाकारहरु प्रकाश पराजुली, आशा विसीलगायत स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने उनी बताउँछन् ।

यस्ता सांस्कृतिक प्रस्तुतिले मनोरञ्जन मात्र प्रदान नगर्ने स्थानीय मौलिक कला र परम्पराको संरक्षणमा समेत योगदान पु¥याउने भन्दै आधुनिक पुस्तामा परम्परागत नाच, बाजा र संस्कृतिप्रतिको आकर्षण घट्दै गएको अवस्थामा मेलाजस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक पहिचानसँग जोड्न सक्ने उनले बताए ।धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदालाई एकीकृत गरी वर्षभरि पर्यटक आकर्षित गर्ने गन्तव्यका रुपमा विकास गर्न सक्नुपर्ने चितवन–गोलाघाट पर्यटन विकास समितिका उपाध्यक्ष सन्देश चापागाईंले बताए । गोलाघाटलाई धार्मिक पर्यटनको केन्द्र, कुमाल तथा थारु संस्कृतिको परिचय स्थल र पर्यापर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने पर्याप्त आधार रहेको उनी बताउँछन् ।

गोलाघाटको सबैभन्दा ठूलो प्राकृतिक विशेषता नारायणी र राप्ती नदीको सङ्गम, दुई ठूला नदीको मिलनबिन्दु, नदीकिनारको फराकिलो भूभाग र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको वनक्षेत्रले यसलाई विशिष्ट प्राकृतिक गन्तव्य बनाएको भन्दै उनले भने, ‘यहाँ पुग्ने पर्यटकका लागि नदीको दृश्य मात्र नभई नदीको प्रवाहसँगै देखिने प्राकृतिक भूगोल पनि आकर्षणको विषय बन्ने गरेको छ ।’बिहानको शान्त वातावरणदेखि साँझको सूर्यास्तसम्म गोलाघाटले फरक–फरक प्राकृतिक सौन्दर्य प्रस्तुत गर्ने भन्दै मेलामा जङ्गलवाक, डुङ्गा सफारी, जिप सफारी, चिँचर, घुँगी, हाँस तथा माछालगायत स्थानीय परिकार पर्यटकका लागि फरक स्वाद र अनुभव बन्न सक्ने उनले बताए ।

विशेषगरी, साँझपख नदीको क्षितिजमा अस्ताउँदै गरेको सूर्यको दृश्यले यहाँको प्रमुख आकर्षणको रुपमा रहेको छ । नारायणी र राप्तीको दोभानमा फैलिएको आकाश, नदीको पानीमा देखिने सूर्यको प्रतिबिम्ब र वरपरको प्राकृतिक वातावरणले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । यहाँको प्राकृतिक सौन्दर्यले प्रकृतिप्रेमी, वन्यजन्तु अवलोकनकर्ता, फोटोग्राफर र शान्त वातावरणमा समय बिताउन चाहने पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्दछ । निकुञ्जको वनक्षेत्रमा पाइने एकसिङ्गे गैँडा, बाघ, चित्तल, मृग, गोहीलगायत वन्यजन्तु यस क्षेत्रको पर्यापर्यटनका आधारका रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट