Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाबुको हत्या आरोपमा दुई छोरा मुछिए, जेठो पक्राउ

बाबुको हत्या आरोपमा दुई छोरा मुछिए, जेठो पक्राउ

चितवन : नारायणी नदी किनारमा भेटिएको कंकाल डीएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का टीकाराम नेपालीको भएको पुष्टि भएपछि उनको हत्या आफ्नै दुई छोराले गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७९ फागुन १९ गते भरतपुर महानगरपालिका–१७, गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्पर, मेरुदण्ड, कम्मर, तिघ्रा तथा दुवै नलीखुट्टाका हाडलगायत मानव कंकाल फेला परेको थियो। कंकालसँगै केही कपडा, मोबाइल, मुख बाँधिएको र पिँध च्यातिएको बोरा तथा प्लास्टिकका थैलासमेत भेटिएका थिए।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। बेपत्ता भनिएका टीकारामका कान्छा छोरा अनिल नेपालीको रगतको नमुना लिएर डीएनए परीक्षण गर्दा फेला परेको कंकाल टीकारामकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

पहिचान खुलेपछि प्रहरीले हत्यामा संलग्न उनका छोराहरू अम्मरसिं नेपाली र विष्णुबहादुर नेपालीको खोजी थालेको थियो। दुवै जना वैदेशिक रोजगारीमा रहेका थिए। प्रहरीले आरोपितलाई नेपाल झिकाउन रेड कर्नर नोटिससमेत जारी गरेको थियो। केही दिनअघि नेपाल आएका जेठा छोरा अम्मरसिंलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

पक्राउ परेका अम्मरसिंले प्रहरीसमक्ष आफू र भाइ विष्णुबहादुर मिलेर बाबुको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। प्रहरीका अनुसार घरमा बाबुआमाबीच झगडा भएपछि नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गर्दै आएका टीकारामलाई दुई छोराले फकाएर घर ल्याई हत्या गरेका थिए।

अम्मरसिंलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउँदै चितवन जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उनलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको छ। अर्का आरोपित विष्णुबहादुर भने हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट