Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सदस्यता नवीकरण र अनलाइन इन्ट्रीमा भरतपुर–४ एमालेको शतप्रतिशत प्रगति,पहिलो वडा बनेको दाबी

सदस्यता नवीकरण र अनलाइन इन्ट्रीमा भरतपुर–४ एमालेको शतप्रतिशत प्रगति,पहिलो वडा बनेको दाबी

चितवन : नेकपा (एमाले)को पार्टी सदस्यता नवीकरण तथा सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने काममा भरतपुर महानगरपालिका–४ ले शतप्रतिशत सफलता हासिल गरेको जनाएको छ। वडा इन्चार्ज प्रकाश आचार्यका अनुसार देशभर रहेका ६ हजार ७ सय ४३ वडामध्ये सदस्यता नवीकरण र अनलाइन इन्ट्री दुवै काम पूर्ण रूपमा सम्पन्न गर्नेमा भरतपुर–४ पहिलो वडा बनेको दाबी गरिएको छ।

एमालेले २०८२ सालको सदस्यता अभिलेखलाई आधार बनाएर २०८३ का लागि सदस्यता नवीकरण अभियान सञ्चालन गरेको थियो। सोही क्रममा भरतपुर–४ का सबै पार्टी सदस्यको नवीकरण सम्पन्न गरी विवरणसमेत अनलाइन प्रणालीमा प्रविष्ट गरिएको आचार्यले जानकारी दिए।

पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा एमालेको सदस्य संख्या घटेको वा सदस्यहरूले पार्टी परित्याग गरेको समाचारहरू सार्वजनिक भइरहेका बेला आफ्नो वडामा भने सदस्यता नवीकरणमा उल्लेख्य सहभागिता देखिएको आचार्यको भनाइ छ। उनले भरतपुर–४ को उपलब्धिलाई देशभरका वडा कमिटीका लागि उदाहरणका रूपमा प्रस्तुत गर्न सकिने बताए।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये क्षेत्रफलका हिसाबले वडा नम्बर ४ सबैभन्दा ठूलो रहेको बताइएको छ। मतदाता संख्याका आधारमा भने यो वडा दोस्रो ठूलो हो। वडाभित्र ३४ वटा टोल विकास संस्था रहेका छन्।

संगठनात्मक हिसाबले वडा दोस्रो स्थानमा रहे पनि पार्टीका गतिविधि, जनपरिचालन तथा आन्दोलनका क्रममा भने अग्रणी भूमिका निर्वाह गर्दै आएको वडा इन्चार्ज आचार्यको दाबी छ।

भरतपुर–४ एमाले चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली तथा पूर्व पार्टी प्रमुख एवं वामपन्थी नेता विष्णु घिमिरेको समेत बसोबास रहेको क्षेत्र हो। दुवैको पार्टी सदस्यता पनि यही वडामा रहेको जनाइएको छ।

सदस्यता नवीकरण र डिजिटल अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा इन्चार्ज प्रकाश आचार्यको नेतृत्वमा वडा कमिटीका पदाधिकारी तथा जिल्ला र महानगर कमिटीका नेताहरू सक्रिय भएका थिए। पूर्व वडा अध्यक्ष एवं जिल्ला सल्लाहकार परिषद्का उपाध्यक्ष हरी आचार्य, जिल्ला कमिटी सदस्य रामचन्द्र ढकाल र शरद पोख्रेल, महानगर कमिटी सदस्य होमनाथ पौडेल र खुमनाथ गिरी, जिल्ला स्वास्थ्य विभाग सदस्य ठाकुर कँडेललगायतले अभियानमा भूमिका निर्वाह गरेका थिए।

त्यस्तै वडा कमिटी अध्यक्ष महेन्द्र पौडेल, सचिव टिकराम सुवेदी, उपसचिव विश्वप्रसाद देवकोटालगायत वडा कमिटीका सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको जनाइएको छ। जिल्ला कमिटीको तर्फबाट प्राविधिक पक्षमा रामबाबु सुवेदीले सहजीकरण गरेका थिए।

वडा पार्टी कमिटीसँग सम्बन्धित अभिलेखलाई कम्प्युटर प्रणालीमा व्यवस्थित गर्नुका साथै वार्षिक कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइएको वडा कमिटी अध्यक्ष महेन्द्र पौडेलले बताए। उनका अनुसार सदस्यहरूको विवरण समय–समयमा अद्यावधिक गर्ने प्रणालीसमेत विकास गरिएको छ।

वडा कमिटीलाई व्यवस्थित, अनुशासित र प्रभावकारी संगठनका रूपमा अघि बढाउन वडा इन्चार्ज प्रकाश आचार्यको भूमिका महत्वपूर्ण रहेको पौडेलको भनाइ छ।

यसअघि भरतपुर–११ को पार्टी अध्यक्षका रूपमा काम गर्दा आचार्यले देशभरमै सबैभन्दा धेरै पार्टी सदस्यता विस्तार गर्ने अभियान सञ्चालन गरेको, टोल कमिटी निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको तथा पार्टी सदस्यता कार्डलाई डिजिटल माध्यमबाट सदस्यहरूसम्म पुर्‍याएको अनुभव रहेको बताइएको छ। यही पृष्ठभूमिका कारण जिल्ला कमिटीले उनलाई भरतपुर–४ को इन्चार्जको जिम्मेवारी दिएको पूर्व जननिर्वाचित वडा अध्यक्ष हरी प्रसाद आचार्यले बताए।

जिम्मेवारी सम्हालेपछि आचार्यले संगठन विस्तारसँगै सदस्यहरूको अभिलेख व्यवस्थापन, जनसम्पर्क र वडा तहका गतिविधिलाई थप व्यवस्थित बनाउन काम गरेको उनको भनाइ छ।

हाल वडा नम्बर ४ मा टोल कमिटी, जनवर्गीय संगठन र वडा कमिटी सक्रिय रहेको एमाले वडा नेतृत्वले जनाएको छ। सदस्यता नवीकरणमा देखिएको उत्साह तथा संगठनात्मक गतिविधिमा कार्यकर्ताको सहभागिताले आगामी २०८४ सालको स्थानीय निर्वाचनमा पार्टीलाई सकारात्मक परिणाम हासिल गर्न सहयोग पुग्ने विश्वास कार्यकर्ताले व्यक्त गरेका छन्।

युवालाई जोड्न बदलिँदो समयअनुसार पार्टी रूपान्तरण आवश्यक

वडा नेतृत्वले पार्टी संगठनमा नयाँ पुस्ताको सहभागिता बढाउन समयअनुकूल सोच र कार्यशैली आवश्यक रहेको पनि औँल्याएको छ। प्रविधिसँगै हुर्किरहेको युवापुस्ताको रुचि, अपेक्षा र मनोविज्ञान बुझेर पार्टीका नीति, कार्यक्रम तथा संगठनात्मक योजनामा आवश्यक परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ।

लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि भूमिका निर्वाह गर्दै आएका राजनीतिक दलहरूले नयाँ पुस्ताका आवश्यकता र भावनालाई सम्बोधन गर्न नसके उनीहरूसँगको राजनीतिक सम्बन्ध कमजोर हुन सक्ने वडा नेतृत्वको बुझाइ छ।

युवामैत्री संगठन निर्माण गर्दै उनीहरूको सिर्जनशीलता, क्षमता र अपेक्षालाई पार्टीका गतिविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताइएको छ। युवालाई योजनाबद्ध रूपमा राजनीतिक तथा सामाजिक अभियानमा सहभागी गराई नेतृत्व विकासको अवसर सिर्जना गर्न सके पार्टी संगठनलाई थप गतिशील, प्रभावकारी र समयसापेक्ष बनाउन सकिने एमाले वडा नेतृत्वले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij