काठमाडौं : गत शुक्रबारबाट नेपाली दर्शकमाझ प्रदर्शन भइरहेको चलचित्र 'बेहुली' अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ।
चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुने भएको हो। चलचित्रलाई 'सेभेज सिज इन्टरनेशनल फिल्म्स'ले अमेरिकामा रिलिज गर्न लागेको हो।
चलचित्रको अमेरिका प्रदर्शनसम्बन्धी सार्वजनिक जानकारी अनुसार 'बेहुली' अमेरिकाका २३ वटा राज्यमा रहेका विभिन्न चलचित्र हलमा प्रदर्शन हुनेछ। हालसम्म यो चलचित्रको टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ।
अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स, एप्पल सिनेमाजलगायतका ठाउँमा प्रदर्शन तय गरिएको बताइएको छ। अमेरिकामा मात्र सीमित नरही 'बेहुली' अन्य मुलुकहरूमा समेत प्रदर्शन हुने तयारीमा रहेको छ। ती मुलुक र प्रदर्शन मितिबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने प्रस्तुतकर्ता अर्जुन पोखरेलले बताए।
यस चलचित्रमा पारस बम ठकुरी 'कुलब्वाय', दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ। यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ।
यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij