चितवन : चितवनको रत्ननगर–१० स्थित न्यू स्पिडी इङ्गलिस बोर्डिङ स्कुलमा स्काउट ट्रुपको पाककला प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा स्काउटका विद्यार्थीहरूले समूहमा मिलेर विभिन्न परिकार तयार गरेका थिए। प्रतियोगितामा सातवटा पेट्रोल (समूह) सहभागी थिए। प्रत्येक समूहमा ९ देखि १० जना स्काउट विद्यार्थी सहभागी रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी टोलीहरूले निर्धारित समयभित्र स्वच्छ, पोषणयुक्त तथा स्वादिष्ट परिकार तयार गरी आफ्नो पाककला सीप प्रस्तुत गरेका थिए। खाना पकाउने विधि, सरसफाइ, पोषण, प्रस्तुतीकरण, समय व्यवस्थापन तथा टोलीगत समन्वयलाई आधार बनाएर सहभागी टोलीको मूल्याङ्कन गरिएको थियो।
न्यू स्पिडी स्काउट ट्रुपका अध्यक्ष अर्जुनबहादुर थापाका अनुसार विद्यार्थीमा आत्मनिर्भरता, नेतृत्व क्षमता, समूहमा काम गर्ने सीप, शारीरिक तन्दुरुस्ती तथा व्यवहारिक र प्रयोगात्मक ज्ञान विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विद्यार्थीहरूले सिर्जनशीलता, अनुशासन, सहकार्य र जिम्मेवारी प्रदर्शन गरेका थिए। आयोजकका अनुसार यस्ता गतिविधिले विद्यार्थीको व्यक्तित्व विकाससँगै दैनिक जीवनमा आवश्यक व्यवहारिक सीप विकास गर्न सहयोग पुग्छ।
स्कुलका अनुसार स्काउटका विभिन्न गतिविधिले विद्यार्थीमा सेवा, अनुशासन, नेतृत्व, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। स्काउट ट्रुपका सदस्य सचिव डिल्लीराम पोखरेलले पाककला प्रतियोगिताले विद्यार्थीमा व्यवहारिक ज्ञान, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न विद्यालयका स्काउट शिक्षक, स्काउट प्रशिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताबाट उत्कृष्ट छनोट भएका टोलीले अन्य विद्यालयबाट छनोट भएका स्काउट टोलीसँग पनि पाककला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। विद्यालयले आगामी दिनमा पनि स्काउटमार्फत यस्ता सिर्जनात्मक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij