Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडीको नयाँ भाडादर निर्धारण

चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडीको नयाँ भाडादर निर्धारण

चितवन :  चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडी (पीटीभी) को नयाँ भाडादर निर्धारण गरेको छ।

समितिको गत भदौ ९ गते बसेको बैठकले सडकको अवस्था, भूगोल र एम्बुलेन्सको वर्गीकरणका आधारमा नयाँ दुईतर्फी भाडादर तोकेको हो। नयाँ दरअनुसार पिच, ग्राभेल र कच्ची सडकका लागि छुट्टाछुट्टै भाडा निर्धारण गरिएको छ।

पिच सडकमा पीटीभीले तराई क्षेत्रमा प्रतिकिलोमिटर ५७ रुपैयाँ र पहाडी क्षेत्रमा ६५ रुपैयाँ लिन पाउनेछन्। ‘ख’ वर्गको एम्बुलेन्सका लागि क्रमशः ६१ र ७५ रुपैयाँ तथा ‘क’ वर्गको एम्बुलेन्सका लागि ७० र ९५ रुपैयाँ भाडा तोकिएको छ।

त्यस्तै, ग्राभेल सडकमा पीटीभीका लागि तराईमा ६२ र पहाडमा ७० रुपैयाँ, ‘ख’ वर्गको एम्बुलेन्सका लागि ६५ र ८० रुपैयाँ तथा ‘क’ वर्गका लागि ७५ र १०० रुपैयाँ प्रतिकिलोमिटर भाडा निर्धारण गरिएको छ।

कच्ची सडकमा पीटीभीले तराईमा प्रतिकिलोमिटर ७० र पहाडमा ७५ रुपैयाँ, ‘ख’ वर्गको एम्बुलेन्सले ७५ र ९० रुपैयाँ तथा ‘क’ वर्गको एम्बुलेन्सले ८५ र ११० रुपैयाँ लिन पाउनेछन्।

१ देखि ५ किलोमिटरसम्म एकमुष्ट भाडा

चितवन जिल्लाभित्र १ देखि ५ किलोमिटरसम्मको दूरीका लागि पनि दुईतर्फी एकमुष्ट भाडा तोकिएको छ। जसअनुसार ‘क’ वर्गको एम्बुलेन्सका लागि ४५० रुपैयाँ, ‘ख’ वर्गका लागि ४०० रुपैयाँ र पीटीभीका लागि ३५० रुपैयाँ निर्धारण गरिएको छ।

यी क्षेत्रलाई पहाडी भूभाग मानिने

समितिले चितवनका केही क्षेत्रलाई पहाडी र बाँकी क्षेत्रलाई तराई भूभागका रूपमा वर्गीकरण गरेको छ।

पहाडी भूभागमा भरतपुर महानगरपालिका–२९ को हाइवेबाहेकको क्षेत्र, कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–११, १२ र १३ तथा इच्छाकामना गाउँपालिकाका सबै वडा समेटिएका छन्।

उल्लेखित क्षेत्रबाहेक चितवनका अन्य सबै भूभागलाई तराई क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

भरतपुर–काठमाडौं अधिकतम भाडा

भरतपुरबाट काठमाडौं बिरामी लैजाँदा अधिकतम दुईतर्फी भाडा पनि निर्धारण गरिएको छ। जसअनुसार ‘क’ वर्गको एम्बुलेन्सले बढीमा १४ हजार ३०० रुपैयाँ, ‘ख’ वर्गले ११ हजार ५०० रुपैयाँ र पीटीभीले १० हजार रुपैयाँ लिन पाउनेछन्।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, चितवनका सदस्य सचिवद्वारा जारी सूचनामा तोकिएको भाडादरभन्दा बढी रकम नलिन र सर्वसाधारणलाई निर्धारित दरमै सेवा उपलब्ध गराउन एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने सवारी सञ्चालकलाई आग्रह गरिएको छ।

812342971_1841136043912334_7140988449072520548_n.jfif

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट