Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

मानव–वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानीमा कंक्रिट वाल, निर्माण अझै अधुरो

मानव–वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानीमा कंक्रिट वाल, निर्माण अझै अधुरो

राप्ती : चितवनको राप्ती नगरपालिका–१ पिप्ले क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको कंक्रिट वालमा हालसम्म करिब ४० करोड रुपैयाँ लगानी भइसकेको जनाइएको छ। विभिन्न चरणमा बजेट परिचालन गरी निर्माण तथा विस्तार गरिएको उक्त संरचनाको केही भाग भने अझै अधुरै रहेको छ।

लोथर मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष मानबहादुर स्याङ्बोका अनुसार निकुञ्जको वार्षिक आम्दानीबाट मध्यवर्ती क्षेत्रमा प्राप्त हुने बजेट प्रयोग गरी कंक्रिट वाल निर्माणको अवधारणा अघि बढाइएको थियो। तत्कालीन नेतृत्वमा संरक्षणकर्मी, सामुदायिक वनका पदाधिकारी, पूर्वअध्यक्ष तथा समितिका सल्लाहकारसँग छलफलपछि संरचना निर्माण सुरु गरिएको उनले बताए।

निर्माण सुरु भएपछि संघीय तथा प्रदेश सरकार, स्थानीय तह, वडा कार्यालय, मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वनका विभिन्न स्रोतबाट बजेट परिचालन हुँदै आएको स्याङ्बोले बताए। उनका अनुसार तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको क्षेत्र विकास कोष तथा बागमती प्रदेश सरकारका तत्कालीन कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामामार्फत समेत विभिन्न चरणमा बजेट विनियोजन भएको थियो।

सौराहादेखि राप्ती–१ क्षेत्रसम्म कंक्रिट वाल निर्माण तथा विस्तारका लागि मात्रै विभिन्न चरणमा करिब ३५ करोड रुपैयाँ बराबरको बजेट परिचालन भएको उनको भनाइ छ। यसबाहेक पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, राप्ती नगरपालिका, वडा नं. १, ३ र ६, लोथर मध्यवर्ती उपभोक्ता समिति तथा केही सामुदायिक वनको आन्तरिक स्रोतबाट समेत बजेट परिचालन भएको उनले बताए।

“विभिन्न स्रोतबाट भएको लगानी जोड्दा कंक्रिट वाल निर्माण तथा विस्तारमा करिब ४० करोड रुपैयाँ खर्च भएको छ,” स्याङ्बोले भने।

उनका अनुसार कंक्रिट वाल अहिले हात्ती नियन्त्रण गर्ने संरचनामा मात्र सीमित नभई मानव बस्ती र सामुदायिक वनबीचको महत्वपूर्ण सीमारेखा तथा संरक्षण पूर्वाधारका रूपमा विकास हुँदै गएको छ।

निर्माणपछि जंगली हात्ती लगायतका वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने जोखिम घटाउन सहयोग पुगेको स्थानीयको भनाइ छ। तर वालको केही भाग अझै निर्माण हुन बाँकी रहेकाले त्यही क्षेत्रबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्ने, खेतीपातीमा क्षति पुर्‍याउने तथा घरपालुवा जनावरमाथि आक्रमण हुने जोखिम कायमै रहेको स्थानीय बताउँछन्।

स्याङ्बोले बाँकी रहेको भागलाई प्राथमिकताका साथ निर्माण सम्पन्न गर्न सके मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रयास थप प्रभावकारी हुने बताए।

“केही थोरै भाग मात्र बाँकी रहेको अवस्थामा त्यसलाई प्राथमिकताका साथ पूरा गर्न सके मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ,” उनले भने।

उनका अनुसार संरचनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै वन तथा प्राकृतिक सम्पदामा हुने सम्भावित अतिक्रमणको जोखिम घटाउन पनि सहयोग पुर्‍याउन सक्छ। बाढीको अवस्था सिर्जना हुँदा केही समय पानीको बहाव नियन्त्रणमा समेत सहयोग पुग्न सक्ने र स्थानीयलाई सुरक्षित स्थानतर्फ जान अतिरिक्त समय उपलब्ध गराउन सक्ने उनको भनाइ छ।

निर्माण सुरु गर्ने क्रममा विभिन्न टीकाटिप्पणी र प्रश्न उठे पनि समयसँगै संरचनाको उपयोगिता र आवश्यकता थप स्पष्ट हुँदै गएको स्याङ्बोले बताए। उनले बाँकी रहेको भाग तत्काल निर्माण सम्पन्न गर्न सम्बन्धित निकायबीच आवश्यक पहल र समन्वय हुनुपर्नेमा जोड दिए।

स्याङ्बोले चितवन क्षेत्रका प्रतिनिधिसभा सदस्य हरि ढकालको समेत यस विषयमा प्रत्यक्ष पहल र ध्यानाकर्षण हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

कंक्रिट वाल निर्माणमा सहयोग, पहल तथा समन्वय गर्ने तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे, बागमती प्रदेशका तत्कालीन मन्त्री, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यहरू जगन्नाथ थपलिया र कृष्णप्रसाद खनाल, चितवन राष्ट्रिय निकुञ्ज, राप्ती नगरपालिका, सम्बन्धित वडा कार्यालय, लोथर मध्यवर्ती उपभोक्ता समिति, जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता तथा स्थानीय बासिन्दाप्रति स्याङ्बोले आभार व्यक्त गरेका छन्।

उनले कंक्रिट वाललाई “केवल एउटा पर्खाल नभई मानव बस्ती, वन्यजन्तु, वन तथा प्राकृतिक सम्पदाबीच सुरक्षित सहअस्तित्व कायम गर्ने दीर्घकालीन पूर्वाधारको प्रयास”का रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट