भरतपुर महानगरपालिकाले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले स्वच्छ चुलो कार्यक्रम सञ्चालन गर्ने भएको छ।कार्यक्रमअन्तर्गत विद्युतीय चुलो, सुधारिएको चुलो र घरेलु बायोग्यास प्रविधि प्रवर्द्धन गर्न उपभोक्ताबाट माग संकलन सुरु गरिएको छ।भरतपुर महानगरपालिकाको हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रम पाँच वर्षका लागि सम्झौता गरिएको हो। कार्यक्रमअन्तर्गत तीन प्रकारका स्वच्छ चुलो प्रविधि प्रवर्द्धन गर्ने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ।कार्यक्रममा सहभागी हुन इच्छुक उपभोक्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा आवेदन दिनुपर्नेछ। उपभोक्ताले
विद्युतीय चुलो, तह ३ को सुधारिएको चुलो वा घरेलु बायोग्यासमध्ये कुनै एक प्रविधि छनोट गरी आवेदन दिन सक्नेछन्।महानगरपालिकाले कार्यक्रमअन्तर्गत उपभोक्ताले प्रविधिअनुसार निश्चित लागत व्यहोर्नुपर्ने व्यवस्था गरेको छ। विद्युतीय चुलोमा उपभोक्ताले २२ दशमलव २४ प्रतिशत, सुधारिएको चुलोमा ५ प्रतिशत र घरेलु बायोग्यासमा १३ दशमलव ६६ प्रतिशत लागत व्यहोर्नुपर्नेछ।विद्युतीय चुलो प्राप्त गर्न घरमा कम्तीमा १५ एम्पियरको मिटर जडान भएको हुनुपर्नेछ। साथै नागरिकता र विद्युत् महसुल तिरेको बिल अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।बायोग्यास जडानका लागि कम्तीमा एक वटा गाईवस्तु पालेको हुनुपर्ने तथा नागरिकता र जग्गाधनी पुर्जा पेश गर्नुपर्नेछ।माग संकलनका क्रममा घरायसी महिला, एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा न्यून आय भएका परिवारलाई प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ। एउटै घरपरिवारमा दुईवटा प्रविधि उपलब्ध नगराइने सूचनामा उल्लेख छ।महानगरपालिकाले स्वच्छ चुलो कार्यक्रममार्फत परम्परागत इन्धनको प्रयोग घटाउँदै वातावरणमैत्री ऊर्जा प्रविधिको प्रयोग बढाउने लक्ष्य लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij