Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

टाइम फर्मास्युटिकल्सको ३० वर्षे यात्रा : ८ प्रकारका औषधिबाट २५० उत्पादन, स्वदेशदेखि विदेशसम्म

टाइम फर्मास्युटिकल्सको ३० वर्षे यात्रा : ८ प्रकारका औषधिबाट २५० उत्पादन, स्वदेशदेखि विदेशसम्म

चितवन : नेपाली औषधि उद्योगमा स्वदेशी उत्पादन, गुणस्तर र बजार विस्तारको यात्रालाई निरन्तरता दिँदै आएको टाइम फर्मास्युटिकल्स लिमिटेडले स्थापनाको २९ वर्ष पूरा गरी ३० वर्षमा प्रवेश गरेको छ ।  वि.सं. २०५२ असोजमा स्थापना भएको कम्पनीले सामान्य औषधिको उत्पादनबाट सुरु गरेको यात्रा अहिले मुटुरोग, मधुमेह, मानसिक स्वास्थ्य, स्नायुसम्बन्धी समस्या, संक्रमण, श्वासप्रश्वास, छाला, पेट तथा पाचन प्रणालीलगायत विभिन्न उपचार क्षेत्रमा विस्तार गरेको छ ।नवलपुरको गैँडाकोट कारखाना रहेको कम्पनीले २०५४ मंसिर २ गते व्यावसायिक उत्पादन तथा बिक्री सुरु गरेको थियो । सुरुमा २५ जना जनशक्तिले आठ प्रकारका औषधि उत्पादन गरेर बजारमा प्रवेश गरेको कम्पनीले करिब तीन दशकको अवधिमा आफ्नो उत्पादन विविधीकरण गर्दै २५० प्रकारका औषधि उत्पादन गर्ने अवस्थामा पुगेको हो । हाल कम्पनीमा ३५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुरुका वर्षमा वार्षिक करिब ८० लाख रुपैयाँ बराबरको औषधि बिक्री गर्ने कम्पनीले पछिल्ला वर्षहरुमा वार्षिक एक अर्ब २० करोड रुपैयाँ हाराहारी कारोबार गर्दै आएको छ ।

टाइम फर्मास्युटिकल्सका संस्थापक अध्यक्ष तथा हालका कार्यकारी अध्यक्ष जी नारायणबहादुर क्षेत्री तत्कालिन अवस्थामा औषधिको बजार, माग र आयातमा निर्भर नेपाली बजारको अवस्था नजिकबाट बुझेर नेपालमै औषधि उत्पादन गर्ने उद्योग स्थापना गर्ने सोच बनाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “त्यतिबेला नेपालमा निजी औषधि उत्पादक कम्पनी सीमित थिए र बजारको ठूलो हिस्सा आयातित औषधिले ओगटेको थियो । यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यसहित उद्योग स्थापना गरेका हौं ।”बि.सं. २०५३ सालमा जग्गा खरिद गरी उद्योग निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो । उद्योग स्थापनाका लागि तत्कालिन समयमा करिब एक करोड १० लाख रुपैयाँ लगानी गरिएको भन्दै उहाँले नेपाल औद्योगिक विकास निगमबाट ५४ लाख रुपैयाँ ऋण र अन्य साझेदारबाट थप पुँजी जुटाएर उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कम्पनीको पहिलो उत्पादन ‘साइनेक्स’ थियो । रुघाखोकी तथा चिसोका लक्षण कम गर्न प्रयोग हुने यो ब्रान्ड कम्पनीको सुरुवाती पहिचान बन्यो । त्यसपछि कम्पनीले पेनिसिलिन समूहका एन्टिबायोटिक औषधि उत्पादन गर्न थाल्यो । २०५६ सालमा मल्हम उत्पादन गर्ने पूर्वाधार विस्तार गरियो । २०५९ सालमा सेफालोस्पोरिन समूहका औषधि उत्पादनमा प्रवेश गरेको कम्पनीले क्रमशः छुट्टाछुट्टै उत्पादन संरचना विकास गर्दै आफ्नो उत्पादन क्षमता बढाउँदै लगेको उहाँको भनाई छ ।

मुटु, मधुमेहदेखि मानसिक स्वास्थ्यसम्मका औषधि

कम्पनीको उत्पादन विस्तारसँगै औषधिका उपचार समूह पनि फराकिलो हुँदै गएका छन् । सुरुवाती चरणमा सामान्य औषधि तथा संक्रमणविरुद्धका औषधि उत्पादनमा केन्द्रित कम्पनीले अहिले मुटुरोग, मधुमेह, हर्मोनसम्बन्धी समस्या, मानसिक स्वास्थ्य, स्नायुरोग, हाडजोर्नी, पेट तथा पाचन प्रणाली, छाला, स्त्रीरोग, बालरोग, आँखा, कान, नाक र पोषणसम्बन्धी उपचारका औषधि उत्पादन तथा बजारमा उपलब्ध गराउँदै आएको छ । अध्यक्ष क्षेत्रीले भन्नुभयो “इजेक्सन बाहेक सबै रोगका औषधि हामीले उत्पादन गरिरहेका छौं ।”

उत्पादनमा ट्याब्लेटदेखि आँखाको ड्रपसम्म

टाइम फर्मास्युटिकल्सले औषधिको प्रकार र प्रयोग हुने स्वरूपका आधारमा पनि उत्पादन क्षमता विस्तार गरेको छ । कम्पनीको गैँडाकोटस्थित कारखानामा ट्याब्लेट, क्याप्सुल, सिरप, सस्पेन्सन, ड्राइ सिरप, मल्हम, क्रिम, जेल तथा आँखा, कान र नाकमा प्रयोग हुने ड्रप उत्पादन गर्ने व्यवस्था छ ।कम्पनीले पेनिसिलिन, सेफालोस्पोरिन, नन–पेनिसिलिन र स्टेराइल औषधिका लागि छुट्टाछुट्टै उत्पादन इकाइ सञ्चालन गर्दै आएको छ । पेनिसिलिन र सेफालोस्पोरिन समूहका औषधि उत्पादन गर्दा अन्य औषधिसँग मिसावट तथा संक्रमणको जोखिम नहोस् भनेर अलग उत्पादन संरचना बनाइएको उहाँले बताउनुभयो ।

स्टेराइल उत्पादन इकाइमा आँखाका ड्रप, कानका ड्रप र नाकका ड्रप उत्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । यसका लागि विशेष सफा वातावरण, हावाको शुद्धीकरण प्रणाली र सूक्ष्म जीवाणु नियन्त्रणका प्रविधि प्रयोग गरिएको उहाँले बताउनुभयो ।कम्पनीले उत्पादन गर्ने औषधिका ब्रान्डमध्ये साइनेक्स, हाइमोक्स, फेड्रोक्स, फिक्ससेफ, एजेडटी, सिफ्रोक्स, क्लारिथ, क्लोटाइम, ग्लिपिड, एम्पाथ, अस्मारेक्स, बेकोमिन, फोल्भिन, जेन्टाइम, बेकोटाइम, हाइपरनोल, इम्पाथ, युरसोबिल र मोन्टाइम–एललगायत छन् ।

यीमध्ये साइनेक्स रुघाखोकी तथा चिसोका लक्षण कम गर्न प्रयोग हुने औषधि हो । हाइमोक्स र फेड्रोक्स एन्टिबायोटिक समूहका औषधि हुन् भने फिक्ससेफ पनि संक्रमणविरुद्ध प्रयोग हुने औषधि हो । ग्लिपिड मधुमेहको उपचारमा प्रयोग हुने औषधि हो । एम्पाथ टाइप–२ मधुमेहका बिरामीका लागि प्रयोग हुने औषधि हो । मोन्टाइम–एल एलर्जीसम्बन्धी समस्याका लागि र युरसोबिल कलेजो तथा पित्तसम्बन्धी समस्याको उपचारमा प्रयोग हुने औषधि हुन् ।

कम्पनीले पछिल्लो समय नयाँ उत्पादनसमेत थपिरहेको छ । नयाँ उत्पादनमा एन–रक्स, मोन्टाइम–एल, एम्पाथ, युरसोबिल र हाइमोक्स सीभी रहेका छन् । हाइमोक्स सीभी पेनिसिलिन समूहको एन्टिबायोटिक औषधि हो । यसले कम्पनीले सामान्य औषधिबाट सुरु गरेको उत्पादन यात्रा अहिले विभिन्न विशिष्टीकृत उपचार क्षेत्रमा विस्तार भएको देखाउँछ ।औषधि उत्पादनमा गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राख्दै आएको कम्पनीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसारका औषधि उत्पादन गर्दै आएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार अनुसन्धान तथा विकास (आरएन्डडी), गुणस्तर नियन्त्रण (क्वालिटी कन्ट्रोल) र गुणस्तर सुनिश्चितता (क्वालिटी एस्युरेन्स) का छुट्टाछुट्टै विभाग छन् ।

नेपाली बजारबाट अन्तर्राष्ट्रिय बजारसम्म

टाइम फर्मास्युटिकल्सले स्वदेशी बजारमा आफ्नो उपस्थिति विस्तार गरेसँगै निर्यातलाई पनि प्राथमिकतामा राखेको छ । उहाँका अनुसार २०८० सालदेखि औषधि निर्यातको यात्रा सुरु भएको थियो । २०८१ सालमा चीनमा औषधि निर्यात गर्नु कम्पनीका लागि अन्तर्राष्ट्रिय बजार प्रवेशको महत्वपूर्ण उपलब्धि बनेको उहाँले बताउनुभयो ।कम्पनीले हङकङ, लाओसमा समेत औषधि पठाउन थालेको छ । थप तीन चार वटा देशमा औषधि निर्यात गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष क्षेत्रीले भन्नुभयो “कम्पनीको लक्ष्य नेपाली बजारमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय बजारमा पनि गुणस्तरीय औषधिको उपस्थिति बढाउनु रहेको छ ।”

रोजगारी र आर्थिक योगदान

टाइम फर्मास्युटिकल्सको विस्तारले औषधि उत्पादनसँगै रोजगारी सिर्जनामा पनि योगदान गरेको छ । कम्पनीको सुरुवाती चरणमा २५ जनाले रोजगारी पाएका थिए । हाल कम्पनीमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

स्वदेशी औषधि उत्पादनमा आत्मनिर्भरताको लक्ष्य

नेपालको औषधि बजारमा अझै पनि आयातित औषधिको ठूलो हिस्सा रहेको अवस्थामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने कम्पनीका संस्थापक अध्यक्ष तथा कार्यकारी अध्यक्ष क्षेत्रीको धारणा रहँदै आएको छ । उहाँले नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट आयात गर्नुभन्दा स्वदेशी उद्योगलाई उत्पादनको अवसर दिनुपर्ने बताउनुभयो ।नेपालका औषधि उद्योगसँग उत्पादन क्षमता र प्राविधिक दक्षता भए पनि सरकारी नीतिगत सहयोग, बजारको सुनिश्चितता र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो । भ्याक्सिन तथा केही विशिष्टीकृत औषधिबाहेक नेपालमै सबै प्रकारका औषधि उत्पादन गर्न सकिने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट