राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगीको विवाहले पार्टी सभापति रवि लामिछाने र ढकालबीचको लामो संवादहीनता तोडिदिएको छ। महामन्त्री पदबाट हटाइएपछि चिसिएको दुई नेताबीचको व्यक्तिगत सम्बन्ध विवाहको निम्तो आदानप्रदानसँगै पारिवारिक माहोलमा सुधारिएको हो।स्रोतका अनुसार ढकाल र डाँगी विवाहको निम्तो कार्ड लिएर मंगलबार बेलुका लामिछानेको बुढानिलकण्ठस्थित निवास पुगेका थिए। दुवै जनाले लामिछाने र उनकी पत्नी निकितालाई विवाहको चुल्हे निम्तो दिएका छन्, जसमा लामिछाने दम्पतीले सहभागी हुने वचन दिँदै चारजनाबीच सौहार्दपूर्ण पारिवारिक कुराकानी भएको बताइएको छ।
यसै क्रममा ढकाल र डाँगीले हिजो बिहान सभामुख डीपी अर्यालको निवासमै पुगेर सपरिवार विवाहको निम्तो दिएका छन्। निम्तो स्वीकार गर्दै सभामुख अर्याल र उनकी पत्नी अम्बिकाले पनि विवाह समारोहमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।पार्टी पङ्क्तिमा समेत जानकार रहेको मुकुल र निशाबीचको लामो प्रेम सम्बन्ध रास्वपाभित्रको आन्तरिक विवादका बीच पनि अक्षुण्ण रह्यो। मुकुल कारबाहीमा परेर पार्टी नेतृत्वसँग वैचारिक संघर्षमा उत्रिँदा निशा भने रास्वपामै सक्रिय रहँदै महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्।राजनीतिक उतारचढावका बीच जोगिएको प्रेमलाई पूर्णता दिँदै यो जोडी आउँदो १० गते वैवाहिक बन्धनमा बाँधिँदै छ। विवाहको अन्तिम तयारीका लागि हिजै काठमाडौंबाट विराटनगर पुगिसकेका ढकालले विराटनगरबाटै जन्ती लिएर झापा जाने कार्यक्रम तय भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij