काठमाडौं : सशस्त्र प्रहरी बलको एआईजीबाट बर्खास्तीमा परेका वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन निवेदन दिएका छन् ।स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन पेस गरेका हुन् । उनको पुनरावेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग रहेको छ ।सरकारले बर्खास्तीको निर्णय यथावत् राखेमा मात्रै दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । कानुनी प्रक्रियाअनुसार मन्त्रिपरिषद्बाटै पुनरावेदनको टुंगो लाग्नुपर्ने भएकाले उनी अहिले सोझै अदालत नगई सरकारसमक्ष पुगेका हुन् ।प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना बिचौलियाको आरोप लागेका इनम सापकोटालाई दिएको आरोपमाथि लागेको थियो ।त्यसपछि सरकारले संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा गत २३ असोजमा दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो ।
स्रोतका अनुसार सापकोटा पक्राउ परेपछि उनको मोबाइलबाट दाहालसँग सम्पर्क भएको पाइएको थियो । यही सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले गत १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो ।निलम्बनपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो। पोखरेल नेतृत्वको छानबिनपछि सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको निष्कर्ष निकाल्दै सरकारले उनलाई सेवाबाट हटाएको थियो ।
त्यसअघि गत ११ असोजमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाटै पक्राउ गरेको थियो । जबरा पक्राउ परेलगत्तै एआईजी दाहाल प्रहरी हिरासतमा पुगेर उनलाई भेटेको विषयसमेत सार्वजनिक भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij