Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

बंगलादेशमा हिंसा चर्कियो : बम विस्फोट र आगजनी, २४ घण्टामा ५६५ पक्राउ

बंगलादेशमा हिंसा चर्कियो : बम विस्फोट र आगजनी, २४ घण्टामा ५६५ पक्राउ

काठमाडौंः बङ्गलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा हिंसात्मक घटना बढेका छन्। पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी हडताल आह्वान गरेकै बेला राजधानी ढाकाका विभिन्न स्थानमा बम विस्फोट भएका छन् भने पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमा आगजनी गरिएको छ।

हिंसाका क्रममा ग्रामीण बैंकका विभिन्न शाखा, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमाथि पनि आक्रमण भएको छ। प्रहरीका अनुसार पछिल्ला घटनामा कम्तीमा चार जना घाइते भएका छन्। राजधानी ढाकामा २४ घण्टे सुरक्षा अभियानका क्रममा ५६५ जनालाई पक्राउ गरिएको छ।

चटगाउँको पञ्चलाइश क्षेत्रमा अज्ञात समूहले युनुसका पिताको घरमा आगो लगाएको हो। यसअघि देशका विभिन्न स्थानमा रहेको ग्रामीण बैंकका शाखाहरूमा पनि आगजनी गरिएको थियो।

ढाकामा अवामी लिगका दुई नेताका घरमा आक्रमण र आगजनी भएको छ। त्यस्तै, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कम्तीमा दुई कार्यालय र एक नेताको घरमा पनि आगो लगाइएको छ। पछिल्ला दुई दिनमा अवामी लिगका कम्तीमा दुई पार्टी कार्यालय र नेताहरूका पाँचवटा सम्पत्तिलाई समेत निशाना बनाइएको छ।

देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा सवारीसाधन जलाउने र दर्जनौँ कच्चा बम विस्फोट गराउने घटना भएका छन्। 

पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले बिहीबार देशव्यापी बन्दको आह्वान गरेको थियो। गत वर्ष विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा अनुपस्थितिमै मृत्युदण्ड सुनाएको घटनाको वार्षिकीको सन्दर्भमा पार्टीले बन्द आह्वान गरेको हो।

७९ वर्षीया हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनका कारण आफ्नो सरकार ढलेपछि बंगलादेश छाडेर भारत पुगेकी थिइन्। बंगलादेश सरकारले भारतसँग उनको सुपुर्दगी माग गर्दै आएको छ। हसिनाले आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा पनि स्वदेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको छ।

हिंसा नियन्त्रण गर्न ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख फ्लाइओभरहरूमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने राजधानी प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधन जाँच भइरहेको छ।

२४ घण्टे अभियानका क्रममा पक्राउ परेकामध्ये हसिना सरकारका पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन्। संवेदनशील जिल्लाहरू, विशेषगरी गोपालगञ्जमा सीमा सुरक्षा बल (बिजिबी) का हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसैबीच प्रधानमन्त्री तारिक रहमानले बीएनपीका सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्केर पार्टी कार्यकर्ता र समर्थकसँग सक्रिय रहन निर्देशन दिएका छन्।

प्रधानमन्त्री रहमानले अवामी लिगलाई आतंकवादी संगठन र फासीवादी शक्ति भन्दै उसको पुनरुत्थानको विरोध गरेका छन्। उनले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर सन् २०२४ मा जस्तै त्यस्ता शक्तिलाई निर्णायक रूपमा पराजित गर्न आह्वान गरेका छन्।

उनले बीएनपीका नेताहरूलाई सरकारी संयन्त्रमा मात्रै निर्भर नभई तल्लो तहका कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न पनि निर्देशन दिएका छन्।

यसैबीच पश्चिमी नाराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले गरेको आक्रमणमा सत्तारूढ दलका दुई स्थानीय नेताको मृत्यु भएको छ। फरिदपुर र पिरोजपुरमा भएका हिंसात्मक घटनामा एक बीएनपी नेता र एक यातायात कर्मचारीको पनि ज्यान गएको छ। गृहमन्त्री सलाहुद्दिन अहमदले आगजनी र हिंसामा संलग्न व्यक्तिहरूको पहिचान श्रव्यदृश्य प्रमाणका आधारमा गरिने र दोषीमाथि कडा कानुनी कारबाही हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij