Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

पहिलो पटक आज ट्रम्प, सी र पुटीनबीच त्रिपक्षीय बैठक

पहिलो पटक आज ट्रम्प, सी र पुटीनबीच त्रिपक्षीय बैठक

काठमाडौंः चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज पहिलोपटक त्रिपक्षीय बैठक हुँदै छ। यसका लागि ट्रम्प र पुटिन गएराति नै चीन पुगिसकेका छन्। त्यही रात ऐतिहासिक भेट गरेका विश्वका ३ शक्तिशाली नेताले आज औपाचरिक रूपमा त्रिपक्षीय भेटवार्ता गर्ने भएका हुन्। 

दोस्रो विश्वयुद्धपछि यो शीर्ष तीन देशका नेताहरूको पहिलो त्रिपक्षीय बैठक हुनेछ। यसै बैठकमार्फत चीनले आफूलाई एक शक्तिका रूपमा चित्रण गर्न चाहन्छ, जसले संयुक्त राज्य अमेरिका र रुसजस्ता प्रमुख देशहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छ। सी संसारलाई र विशेष गरी आफ्नै जनतालाई देखाउन चाहन्छन्– आफ्नो नेतृत्वमा चीनको भूमिका विश्वमा ठुलो र अन्य देशले चीनका कुरा सुन्छन् र चीनलाई सम्मान गर्छन्।


‘ऐतिहासिक हस्त मिलन’

यसअघि रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन)ले भिडिओ जारी गर्दै चिनियाँ समयअनुसार गएराति चीनको सेन्जेनमा तीन नेताबिच ऐतिहासिक भेटघाट भएको जनाएको छ। रुसका सञ्चारमाध्यमले सी, पुटिन र ट्रम्पको त्रिपक्षीय भेटलाई ठुलो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन्।

अगस्ट २०२५ मा अलास्कामा भएको रुस–अमेरिका शिखर सम्मेलनपछि ट्रम्प र पुटिनबिच पहिलोपटक प्रत्यक्ष भेटघाट भएको हो। यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देशमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। राष्ट्रपति बनेयता सीले विमानस्थलमै पुगेर कुनै विदेशी नेतालाई स्वागत गरेको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

सीले ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गर्नु केवल औपचारिकता नभई सुझबुझयुक्त कूटनीतिक क्षण ठानिएको छ। त्यसो त यसवर्षको सुरुमा अमेरिका भ्रमणमा जाँदा सीलाई ट्रम्पले पनि विमानस्थलमै गएर स्वागत गरेका थिए। त्यही सम्मान सीले अहिले फर्काएको पनि विश्लेषण भइरहेका छन्। ट्रम्प चीन ओर्लंदा सीले विमानस्थलको रनवेमै रातो कार्पेट ओछ्याएर स्वागत गरेका थिए भने भेट्नासाथ सीले ट्रम्पलाई अँगालो हालेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij