Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम : १० करोडको लगानीमा खुल्यो सुविधा सम्पन्न ‘होटल आँगन’

बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम : १० करोडको लगानीमा खुल्यो सुविधा सम्पन्न ‘होटल आँगन’

बागलुङ : धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले गर्नुभयो।होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र विभिन्न समारोह सञ्चालन गर्न सकिने तीनवटा सुविधासम्पन्न हल रहेका छन्। स्थानीय पर्यटन, आतिथ्य सेवा र व्यावसायिक गतिविधिलाई थप उचाइमा पुर्‍याउने अपेक्षासहित सञ्चालनमा आएको होटल आँगनलाई बागलुङको पर्यटन पूर्वाधारमा निजी क्षेत्रबाट भएको महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष भण्डारीले बागलुङजस्तो प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न जिल्लामा पर्यटन व्यवसायको सम्भावना अत्यन्तै व्यापक रहेको बताउनुभयो। उहाँले पर्यटनको विकासका लागि पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँगै गुणस्तरीय होटल, व्यवस्थित आतिथ्य सेवा, दक्ष जनशक्ति र लगानीमैत्री वातावरण आवश्यक रहेको धारणा राख्नुभयो।उहाँले भन्नुभयो, “पर्यटन गन्तव्य भएर मात्र पुग्दैन, त्यहाँ आउने पर्यटकलाई गुणस्तरीय सेवा, सुरक्षित बसाइ, स्थानीय स्वाद र आत्मीय आतिथ्यता प्रदान गर्न सक्नुपर्छ। निजी क्षेत्रको लगानी र स्थानीय समुदायको सहभागिताबाट मात्रै पर्यटनलाई दिगो आर्थिक गतिविधिका रूपमा विकास गर्न सकिन्छ।”

अध्यक्ष भण्डारीले बागलुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै साहसिक पर्यटन, ग्रामीण पर्यटन, प्राकृतिक पर्यटन र सम्मेलन पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। कालिका भगवती मन्दिर, पञ्चकोट, बागलुङ बजार, गलकोट, ढोरपाटन, गाजा दह तथा बागलुङका विभिन्न प्राकृतिक र सांस्कृतिक सम्पदालाई एकीकृत पर्यटन प्याकेजका रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो।

पर्यटन व्यवसायको संस्थागत विकासमा महासंघको पहल

होटल व्यवसायी महासंघ नेपालले देशभरका होटल तथा पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न संस्थागत तथा नीतिगत पहल अघि बढाइरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।महासंघले व्यवसायीको हकहित संरक्षण, सरकारसँग नीतिगत पैरवी, पर्यटन पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता, सीप तथा क्षमता अभिवृद्धि तालिम, सेवा गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग र स्थानीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।महासंघले पछिल्लो समय होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले ‘Digital Literacy for Hotel Industry’ अभियानसमेत अघि बढाएको छ। यस अभियानमार्फत होटल व्यवसायमा डिजिटल मार्केटिङ, अनलाइन ट्राभल एजेन्सी (OTA), प्रोपर्टी म्यानेजमेन्ट सिस्टम (PMS), गुगल रिभ्यु तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायतका प्रविधिको प्रयोगबारे व्यवसायीलाई सचेत र सक्षम बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, महासंघले पर्यटनसँग सम्बन्धित सरकारी निकाय, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा होटल व्यवसायीका लागि सीपमूलक तालिम, खाद्य सुरक्षा, स्वच्छ भान्छा, सेवा गुणस्तर अभिवृद्धि र गन्तव्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।अध्यक्ष भण्डारीका अनुसार देशका सातै प्रदेश र स्थानीय तहसम्म होटल तथा पर्यटन व्यवसायीलाई जोड्दै व्यवसायीको समस्या समाधान, लगानी संरक्षण र पर्यटनको आर्थिक योगदान वृद्धि गर्न महासंघले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ।कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य कमल न्यौपाने, महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, वरिष्ठ उपाध्यक्ष दुर्गाविलास भट्टराई, कोषाध्यक्ष गोपाल पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ बागलुङका अध्यक्ष राजनकुमार शाक्य, एकीकृत सेवा केन्द्रका पूर्वप्रमुख पारसिंह थापा, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषि गौतमलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता बागलुङ होटल व्यवसायी संघकी उपाध्यक्ष ललिता थापाले गर्नुभएको थियो भने सञ्चालन संघकी सचिव कविता बस्नेतले गर्नुभएको थियो।करिब १० करोडको लगानीमा सञ्चालनमा आएको होटल आँगनले बागलुङको पर्यटन तथा आतिथ्य सेवामा नयाँ सम्भावना थप्नुका साथै स्थानीयस्तरमै स्तरीय सेवा उपलब्ध गराउने र जिल्लालाई राष्ट्रिय पर्यटन बजारमा थप परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट