रत्ननगर : बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले गुरुकुलमा अध्ययनरत बटुकहरूको स्वास्थ्य सुरक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
रत्ननगर नगरपालिका–१ निपनीस्थित हरिहर मन्दिर तथा गायत्री वेदवेदाङ संस्कृत गुरुकुलमको स्थलगत निरीक्षण तथा अवलोकनका क्रममा मन्त्री तामाङले वैदिक सनातन धर्म, संस्कृति र संस्कृत भाषाको संरक्षणमा गुरुकुलले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले गुरुकुलका विद्यार्थीको स्वास्थ्य उपचारको जिम्मेवारीसमेत राज्यले लिनुपर्ने धारणा राखे ।
वैदिक सनातन धर्म, संस्कृति र भाषाको संरक्षणमा मठमन्दिर तथा गुरुकुलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री तामाङले यस्ता धार्मिक तथा शैक्षिक संस्थाको संरक्षण र विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको पहलमा मन्त्री तामाङलाई गुरुकुलको स्थलगत अवलोकन गराइएको हो । गिरीकै पहलमा मन्दिर परिसरमा हरिहर सदन भवन निर्माण भइरहेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेलले मन्दिर तथा गुरुकुलले भोगिरहेका समस्या, आवश्यक पूर्वाधार र विकासका योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए । कार्यक्रममा गुरुकुलम व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद भट्ट, प्राचार्य सुवास चालिसे तथा मन्दिरका पुजारी कुलदीप गौतमलगायतको उपस्थिति थियो ।
मन्दिरको एक बिघा जग्गाको पश्चिमतर्फ निर्माण भइरहेको हरिहर सदन भवनको डीपीआर पाँचतले रहेको छ । हाल तीन तला निर्माण गर्न बाँकी रहेको जनाइएको छ । भवन निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत यसअघि चार करोड रुपैयाँ लगानी भइसकेको छ । तर, चालु आर्थिक वर्षमा थप बजेट विनियोजन नभएको जानकारी गराइएको थियो ।
गुरुकुलमा हाल कक्षा ६ देखि १२ सम्म ११० जना बटुक अध्ययनरत छन् । उनीहरूलाई अध्यापन गराउन नौ शिक्षक र चार कर्मचारी गरी १३ जना कार्यरत छन् ।