काठमाडौं : प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरी कर्मचारीका पिरमर्का र गुनासो सुन्न तथा तिनको समयमै सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ ।कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीका समस्या पहिचान गरी समाधानको पहल गर्ने उद्देश्यले टोली गठन गरिएको हो ।अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको छ ।टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा सुन्ने, उनीहरूका पिरमर्का अभिलेखीकरण गर्ने र प्राप्त समस्याको समाधानका लागि सम्बन्धित कार्यालयसँग आवश्यक समन्वय गर्नेछ । कर्मचारीका गुनासा लामो समयसम्म अलपत्र नपरून् भन्ने उद्देश्यले तिनको समयमै सम्बोधन तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत टोलीलाई दिइएको छ ।
गठित टोलीमा कार्य विभागका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका प्रहरी निरीक्षक प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाकी प्रहरी निरीक्षक सञ्चिता श्रेष्ठ र कल्याण महाशाखाकी प्रहरी वरिष्ठ नायब निरीक्षक शान्ता लक्ष्मी बलामी सदस्य छन् ।त्यस्तै, अपराध अनुसन्धान विभागका प्रहरी नायब निरीक्षक धर्मी यादव, सञ्चार निर्देशनालयका प्रहरी सहायक निरीक्षक हरिबहादुर देउजा र विशेष कार्यदलका प्रहरी जवान विष्णु घिमिरे पनि टोलीमा समेटिएका छन् ।टोलीलाई तल्लो तहका प्रहरी कर्मचारीका समस्या प्रत्यक्ष रूपमा सुन्ने, लिपिबद्ध गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij