Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

नेपालको औषधि बजार ८० अर्ब नाघ्यो: यी हुन् बाजार हिस्साका आधारमा उत्कृष्ट १० कम्पनी

नेपालको औषधि बजार ८० अर्ब नाघ्यो: यी हुन् बाजार हिस्साका आधारमा उत्कृष्ट १० कम्पनी

काठमाडौं : नेपालको औषधि बजार वार्षिक ८० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य तथ्यांक तथा बजार अनुसन्धान संस्था आइक्युभिया (आईक्यूभीआईए) ले सार्वजनिक गरेको ‘नेपाल मार्केट रिफ्लेक्सन रिपोर्ट’ (सेप्टेम्बर २०२६) अनुसार, पछिल्लो एक वर्ष (MAT – Moving Annual Total) मा नेपालको कुल औषधि बजार ८० अर्ब १७ करोड रुपैयाँ बराबरको रहेको छ।   वार्षिक रूपमा १२ प्रतिशतले विस्तार भइरहेको नेपाली औषधि बजारमा सेप्टेम्बर २०२६ को एक महिनामा मात्र ७ अर्ब २९ करोड रुपैयाँ बराबरको औषधि कारोबार भएको प्रतिवेदनमा उल्लेख छ।   बजार हिस्साका आधारमा नेपालमा उत्कृष्ट १० औषधि कम्पनीहरूमा ६ वटा स्वदेशी र ४ वटा भारतीय (बहुराष्ट्रिय) कम्पनी रहेका छन्। विशेषगरी शीर्ष पाँच स्थानमा नेपाली औषधि उद्योगहरूले नै आफ्नो बलियो पकड जमाएका छन्।   आईक्यूभीआईएको तथ्यांक खुद्रा औषधि पसलहरूको अडिटमा आधारित हुने भएकाले सरकारी खरिद तथा अस्पतालका ठूला टेन्डरहरूको हिस्सा यसमा समावेश भने हुँदैन।

यी हुन् बजार हिस्साका आधारमा नेपालका उत्कृष्ट १० औषधि कम्पनी

आईक्यूभीआईएको प्रतिवेदनअनुसार वार्षिक ४ अर्ब २० करोड रुपैयाँको कारोबारसहित स्वदेशी उद्योग क्वेस्ट फर्मास्युटिकल्स नेपाली बजारको शीर्ष स्थानमा रहेको छ। वार्षिक वृद्धिदर ७ प्रतिशत रहेको क्वेस्टले सेप्टेम्बर महिनामा मात्र ३९ करोड रुपैयाँको कारोबार गरेको छ।   दोस्रो स्थानमा रहेको स्वदेशी उद्योग नेपाल फर्मास्युटिकल्स ल्याबोरेटरी (एनपीएल) ले वार्षिक ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार गरेको छ। १५ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गरेको एनपीएलको सेप्टेम्बरको कारोबार ३३ करोड रुपैयाँ छ।यस्तै, तेस्रो स्थानमा रहेको देउराली–जनता फर्मास्युटिकल्सको वार्षिक कारोबार ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। वार्षिक १२ प्रतिशतले व्यवसाय विस्तार गरिरहेको देउराली–जनताले सेप्टेम्बर महिनामा ३३ करोड रुपैयाँको कारोबार गर्दै २१ प्रतिशतको उच्च मासिक वृद्धिदर हासिल गरेको छ।   

चौथो स्थानमा नेसनल हेल्थकेयर रहेको छ, जसले वार्षिक ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेको छ। वार्षिक १ प्रतिशत वृद्धिदर रहेको नेसनलको सेप्टेम्बरको कारोबार ३१ करोड रुपैयाँ छ।पाँचौँ स्थानमा रहेको स्वदेशी उद्योग आर्य फर्मा ल्याबले १५ प्रतिशतको वार्षिक वृद्धिदरसहित ३ अर्ब ३३ करोड रुपैयाँको कारोबार गरेको छ भने सेप्टेम्बरमा २८ करोड रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ।   उत्कृष्ट १० को छैटौँ स्थानदेखि नवौँ स्थानसम्म भारतीय कम्पनीहरूको उपस्थिति देखिएको छ। छैटौँ स्थानमा रहेको सन फर्माले शीर्ष १० कम्पनीहरूमध्ये सर्वाधिक १९ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गर्दै ३ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको छ।

सन फर्माले सेप्टेम्बर महिनामा २८ करोड रुपैयाँको व्यापार गरेको छ।

सातौँ स्थानमा रहेको अरिस्टो फर्मास्युटिकल्सको वार्षिक कारोबार ३ अर्ब ७ करोड रुपैयाँ (वृद्धिदर १७ प्रतिशत) र सेप्टेम्बरको कारोबार २४ करोड रुपैयाँ रहेको छ।   आठौँ स्थानमा रहेको अल्केम ल्याबोरेटरीजले १३ प्रतिशतको वार्षिक वृद्धिदरसहित २ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेको छ भने सेप्टेम्बर महिनामा २६ करोड रुपैयाँको व्यापार गरेको छ। नवौँ स्थानमा रहेको सिप्लाको वार्षिक कारोबार २ अर्ब ६७ करोड रुपैयाँ (वृद्धिदर १४ प्रतिशत) र सेप्टेम्बरको कारोबार २१ करोड रुपैयाँ छ।   दशौँ स्थानमा भने स्वदेशी उद्योग एसियन फर्मास्युटिकल्स पर्न सफल भएको छ। एसियनले वार्षिक ९ प्रतिशतको वृद्धिदरसहित २ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको छ भने सेप्टेम्बर महिनामा २२ करोड रुपैयाँको औषधि बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ।   

रोगका आधारमा कुन औषधिको खपत बढी?
थेराप्युटिक समूहका आधारमा एन्टि–इन्फेक्टिभ्स (संक्रमण विरुद्धका औषधि) ११ अर्ब १७ करोड रुपैयाँको कारोबारसहित पहिलो स्थानमा छ। तर, पछिल्लो समय मुटुरोग (कार्डियाक) सम्बन्धी औषधिको माग १४ प्रतिशतले बढेर १० अर्ब २४ करोड पुगेको छ, जुन छिट्टै पहिलो स्थानमा उक्लने देखिएको छ। यसैगरी ग्यास्ट्रिक (९ अर्ब ७८ करोड), श्वासप्रश्वास (८ अर्ब १३ करोड) र मधुमेह (६ अर्ब ७९ करोड) का औषधिहरू उच्च खपत हुने सूचीमा छन्।  

सर्वाधिक बिक्री हुने ब्रान्ड
ब्रान्डका आधारमा ग्यास्ट्रिकको औषधि ‘प्यान्टा फास्ट–डी’ वार्षिक ६९ करोड रुपैयाँको कारोबारसहित देशकै नम्बर १ ब्रान्ड बनेको छ। त्यसपछि क्रमशः एन्टिबायोटिक ‘क्लाभाम’ (५७ करोड), दमको औषधि ‘फोराकोर्ट’ (५१ करोड) र रक्तचापको औषधि ‘माइलोड–एल’ (४९ करोड) सर्वाधिक बिक्री हुने ब्रान्डमा परेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट