Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

काठमाडौँ : प्रवासमा रहेर पनि मातृभूमिको राजनीति र विकासक्रमलाई नजिकबाट नियालिरहेका हङकङ निवासी आकाश बञ्जाराले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सम्बोधन गर्दै भावुक खुला पत्र लेखेका छन्। उनले प्रधानमन्त्री पदको गरिमाप्रति उच्च सम्मान व्यक्त गर्दै उमेरको सम्बन्ध र आत्मीयताका आधारमा ‘प्रिय भाइ बालेन’ भनेर सम्बोधन गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको पत्रमा बञ्जाराले प्रधानमन्त्री शाहप्रति आफ्नो सम्मान, विश्वास र आत्मीयता व्यक्त गरेका छन्। उनले पद र प्रतिष्ठाभन्दा माथि मानवीय सम्बन्ध, माया र आत्मीयता हुने उल्लेख गर्दै भाइ भनेर सम्बोधन गर्नुमा कुनै अनादर नभई एउटा दाइको मनमा रहेको गर्व र सद्भाव लुकेको बताएका छन्।

‘प्रधानमन्त्रीको त्यो उच्च पद र गरिमाप्रति मेरो सधैँ शिर निहुराएर उच्च सम्मान छ। तर आज म त्यो पदभन्दा माथि उठेर, उमेरमा मभन्दा सानो भएको नाताले र आत्मादेखिको शुद्ध प्रेमले तिमीलाई प्रिय भाइ बालेन भनेर यो चिठी लेख्दै छु,’ उनले पत्रमा लेखेका छन्।

आफू कुनै राजनीतिक दलको झण्डा बोक्ने व्यक्ति नभएको र कसैको अन्धभक्तसमेत नरहेको स्पष्ट पार्दै बञ्जाराले स्वतन्त्र नागरिकका रूपमा प्रधानमन्त्री शाहका कामलाई मूल्यांकन गरिरहेको बताएका छन्। उनले आफ्नो जीवनमा कहिल्यै राजनीतिमा नलाग्ने घोषणासमेत पत्रमार्फत गरेका छन्।

परदेशमा बसेर देशको अवस्था नियाल्दा नेतृत्वमा देखिएको सक्रियता र देशप्रतिको समर्पणले आफू भावुक भएको उनको भनाइ छ। प्रधानमन्त्री शाहको आँट, निःस्वार्थ कर्म र देश परिवर्तनप्रतिको प्रतिबद्धताले आफ्नो मन जितेको उल्लेख गर्दै उनले खुलेर प्रशंसा गरेका छन्।

‘परदेशको भूमिमा बसेर टाढाबाट देशलाई नियाल्दा, जब एक इमानदार भाइले देशको मुहार फेर्न रातदिन पसिना बगाएको देख्छु, तब मन भक्कानिएर आउँछ,’ बञ्जाराले लेखेका छन्।

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा देशले सकारात्मक परिवर्तनको दिशा समातोस् भन्ने कामना गर्दै कठिन यात्रामा कहिल्यै विचलित नहुन शुभकामना दिएका छन्।

पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘I really love you मेरो डियर भाइ बालेन!’ साथै प्रधानमन्त्रीका हरेक पाइलामा करोडौँ नेपालीको आशीर्वाद र साथ रहिरहोस् भन्दै देशको सान बनेर चम्किरहन शुभकामना व्यक्त गरेका छन्।

राजनीतिक दलगत आबद्धताभन्दा माथि उठेर व्यक्त गरिएको बञ्जाराको यो पत्रले प्रवासमा रहेका नेपालीको देशप्रतिको भावनात्मक सम्बन्ध र नेतृत्वप्रतिको अपेक्षालाई उजागर गरेको छ।

पत्र लेखक : आकाश बञ्जारा, हङकङ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट