Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

अमेरिका–साउदी आणविक सम्झौताको तयारी

अमेरिका–साउदी आणविक सम्झौताको तयारी

काठमाडौँ  : संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकाससम्बन्धी दीर्घकालीन सम्झौता घोषणा गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानसँगको तनाव र यमनमा हुथी विद्रोहीसँग पुनः चर्किएको द्वन्द्वबीच हुन लागेको यो सम्झौतालाई रणनीतिक महत्त्वका साथ हेरिएको छ। 

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले बुधबार साउदी अरेबियासँग औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरी त्यसको घोषणा गर्ने योजना बनाएको छ। पत्रिकाले नाम नखुलाइएका दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अनुसार सम्झौताले अमेरिकी आणविक उद्योगका लागि अर्बौं डलर बराबरका व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार ३० वर्षका लागि लागू हुने प्रस्तावित सम्झौताअन्तर्गत संयुक्त प्राविधिक अध्ययनले आवश्यकता देखाएमा अमेरिकी कम्पनीहरूले साउदी अरेबियामा युरेनियम संवर्धन सुविधा निर्माण गर्न सक्ने व्यवस्था रहनेछ।

तर प्रस्तावित सम्झौताप्रति अमेरिकाभित्रै मिश्रित प्रतिक्रिया देखिएको छ। दुवै प्रमुख राजनीतिक दलका केही सांसद तथा इजरायली अधिकारीहरूले साउदी अरेबियाले नागरिक प्रयोजनका नाममा भविष्यमा आणविक हतियार विकास गर्न सक्ने जोखिम रहेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन्।

सम्झौता आगामी दिनमा अमेरिकी कङ्ग्रेसमा पेस गरिने अपेक्षा गरिएको भए पनि त्यसलाई कार्यान्वयनका लागि कङ्ग्रेसको औपचारिक स्वीकृति आवश्यक नपर्ने जनाइएको छ।

यसैबीच, अमेरिका र इरानबीचको द्वन्द्व चर्किरहेका बेला इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाहहरू अवरुद्ध गर्ने चेतावनी दिएका छन्। सन् २०२२ को युद्धविरामपछि पहिलो पटक गत साता साउदी सेना र हुथी विद्रोहीबीच पुनः गोली हानाहान भएको थियो। फेब्रुअरीको अन्त्यमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेयता क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट