काठमाडौं : हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय महिला क्रिकेट टोलीले महिला एशिया कप २०२६ को उपाधि जितेर नयाँ इतिहास रचेको छ। गएराति सम्पन्न फाइनलमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक एशिया कपको ट्रफी आफ्नो नाममा गराएको हो।
यस जितसँगै भारतले अघिल्लो संस्करणको फाइनलमा श्रीलंकासँग व्यहोरेको पराजयको बदला समेत लिएको छ। प्रतियोगिताभर अपराजित रहेको भारतीय टोलीले फाइनलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्यो।
पहिले ब्याटिङ गरेको भारतले ओपनर शफाली वर्मा र स्मृति मन्धानाको विस्फोटक सुरुवातको मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रनको बलियो योगफल खडा गरेको थियो। शफाली र मन्धानाले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गर्दै महिला टी-२० एशिया कप इतिहासकै उच्च ओपनिङ साझेदारीको कीर्तिमान बनाए।
शफालीले मात्र २४ बलमा अर्धशतक पूरा गर्दै एशिया कप इतिहासकै सबैभन्दा छिटो ५० रन बनाउने रेकर्ड कायम गरिन्। उनले ३९ बलमा ६८ रन बनाइन् भने मन्धानाले ३९ बलमा ५९ रनको योगदान दिइन्। मध्यक्रमका ब्याटरहरू सस्तैमा आउट भए पनि अन्त्यमा कमलिनिले ५ बलमा १५ रन जोड्दै भारतलाई विशाल स्कोरसम्म पुर्याइन्।
१८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाली टोलीको सुरुवात खराब रह्यो। पहिलो ओभरमै ओपनर इमेशा दुलानीलाई क्रान्ति गौडले आउट गरेपछि श्रीलंका दबाबमा आएको थियो। कप्तान चमारी अथापथु (३६) र विश्मी गुणरत्ने (२०) ले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि भारतीय बलरहरूको कसिलो बलिङका अगाडि उनीहरू टिक्न सकेनन्।
१० औं ओभरमा अथापथु आउट भएसँगै श्रीलंकाको इनिङ्स पूर्ण रूपमा धराशायी बन्यो। रनरेटको दबाब झेल्न नसक्दा श्रीलंकाले लगातार विकेट गुमायो र टोली लक्ष्यभन्दा ७२ रन टाढा रोकियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij