काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता रोक्न निर्देशन दिएका छन् । ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता अघि नबढाउने निर्णय गरेको बताइएको छ ।
अमेरिकी अधिकारीका अनुसार अमेरिका र इरानबीच अहिलेसम्म सकारात्मक छलफल भएको थियो । तर, ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन् ।
मध्यस्थकर्ताहरू अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने प्रयासमा जुटिरहेका छन् । कतारले मंगलबार दिएको जानकारीअनुसार, वासिङ्टन र तेहरानलाई पुनः वार्ताको टेबलमा ल्याउनुअघि मध्यस्थकर्ताहरू सम्भावित इरान–ओमान सम्झौताको प्रतीक्षा गरिरहेका बेला यस्तो निर्णय आएको हो ।
एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार इरानसँग सकारात्मक छलफल भइरहेको थियो । तर, राष्ट्रपति ट्रम्पले अहिले पर्खिने निर्णय गरेका छन् । उनले इरान सम्झौताका लागि तयार नभएसम्म छलफल रोक्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन् ।
ती अधिकारीले इरानसँगको वार्ताबारे अमेरिकी प्रशासनको दृष्टिकोण वा स्थितिमा कुनै मतभेद वा द्वन्द्व नरहेको दाबी गरेका छन् । यद्यपि, ट्रम्पले मंगलबार अमेरिका र इरानबीच अहिले कुनै वार्ता भइरहेको वा निर्धारित नभएको बताए ।
ट्रम्पले मंगलबार स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभागका रूपमा दाबी गर्दै सामाजिक सञ्जालमा एउटा नक्सा पोस्ट गरेका थिए । ट्रम्पको पोस्टपछि इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज स्ट्रेटलाई अमेरिकाको हिस्सा भन्नु भ्रम भएको बताएका छन् ।
ट्रम्पले ट्रुथ सोसलमा एउटा ग्राफिक पोस्ट गरेका थिए, जसको माथि ‘नयाँ अमेरिकी क्षेत्र’ लेखिएको थियो । उक्त नक्सामा होर्मुज स्ट्रेट र त्यस वरपरको समुद्री क्षेत्र देखाइएको थियो, जसमा इरान, ओमान र संयुक्त अरब इमिरेट्सका केही भागसमेत समेटिएका थिए ।
यसैबीच, ट्रम्पले मंगलबार हर्मुजबारे बोल्दै त्यहाँ अमेरिकी नौसैनिक नाकाबन्दी अझै पूर्ण रूपमा लागु रहेको बताएका छन् ।
होर्मुज खुला रहेको र त्यहाँ जहाजको आवतजावत जारी रहेको उनको दाबी छ । अर्कातर्फ, इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म इरानले होर्मुज नखोल्ने बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij