Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

युरोपमा देखियो ३० वर्षयताकै सबैभन्दा दुर्लभ सूर्यग्रहण

युरोपमा देखियो ३० वर्षयताकै सबैभन्दा दुर्लभ सूर्यग्रहण

बेलायत तथा युरोपबाट झन्डै ३० वर्षयताकै सबैभन्दा रोमाञ्चक सूर्यग्रहण अनुभव नयाँ पुस्ताले गरेको छ। दुर्लभ र पस्तौंमा एकपटक देखिने भनिएको यो दुर्लभ खगोलीय घटनालाई लाखौँ मानिसले प्रत्यक्ष अवलोकन गरेको अनुमान गरिएको छ।

बेलायतबाट ग्रहण हेर्नेहरूका लागि यो आंशिक सूर्यग्रहणका रुपमा रहेको थियो। बेलायती समयअनुसार साँझ ७ बजेर केही मिनेटपछि ग्रहण उत्कर्षमा पुग्दा अधिकांश स्थानबाट सूर्यको ९० प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाकेको देखिएको थियो।

तर ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा भने मानिसहरूले अझ अद्भुत दृश्य अवलोकन गरेका थिए। उनीहरुले पूर्ण सूर्यग्रहणको अनुभव गरे।

बेलायत र युरोपका विभिन्न अवलोकनस्थलमा जम्मा भएका ठूलो भीडले ग्रहणको दृश्यमा आश्चर्य र खुसी व्यक्त गर्दै हुटिङ र ताली बजाएका थिए। खगोल विज्ञानका उत्साहीहरूले यो घटनाले ब्रह्माण्ड कति ‘अद्भुत’ छ भन्ने पुनः सम्झाएको बताएका छन्।

पूर्ण सूर्यग्रहणको छायाँ पर्ने मार्ग रुसको साइबेरियाको उत्तरी छेउबाट सुरु भएको थियो, जहाँ सुरुमा मानिस र दूरबिनको भीड थिएन। त्यसपछि यो मार्ग आर्कटिक महासागर हुँदै घुम्दै साँझपख आइसल्यान्ड पुग्यो र त्यहाँबाट दक्षिणतर्फ अघि बढ्दै बेलायतलाई पनि यसको अद्भुत दृश्यको केही अंश देखायो।

बेलायतमा आंशिक सूर्यग्रहण उत्तरी स्कटल्यान्डमा बेलायती समयअनुसार साँझ करिब ६ बजे सुरु भएको थियो भने इंग्ल्यान्डको दक्षिणी तटीय क्षेत्रमा ६:२० बज्नुअघि नै सुरु भइसकेको थियो। सुरुमा ग्रहण निकै सामान्य र लगभग नदेखिने खालको थियो। तर आकाश सफा भएका ठाउँमा मानिसहरूले चन्द्रमाले बिस्तारै सूर्यलाई ‘काट्दै गएजस्तो’ दृश्य देख्न थालेका थिए।

मध्य र दक्षिणी इंग्ल्यान्ड तथा वेल्सका धेरै क्षेत्रमा आकाश पूर्ण रूपमा सफा भएकाले मानिसहरूले करिब एक घण्टासम्म चन्द्रमा बिस्तारै सूर्यको अगाडिबाट गुज्रिँदै गएको अद्भुत दृश्य स्पष्ट रूपमा हेर्न पाए।

उत्तरी इंग्ल्यान्ड, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा भने बादल बढी थिए। तर खराब मौसमको सम्भावनाले पनि मानिसहरूलाई रोक्न सकेन। देशभरका प्रसिद्ध स्थलहरूमा ग्रहण हेर्न ठूलो संख्यामा मानिसहरू भेला भए।

धेरैले सूर्यग्रहण हेर्न प्रयोग हुने विशेष चस्मा प्रयोग गरेका थिए। चस्माको अत्याधिक विक्रिका कारण ग्रहणको केही दिनअघि नै ती चस्माको अभाव हुन थालेको थियो। अप्टिकल पसल, हार्डवेयर पसलदेखि बेकरीसम्ममा समेत ग्रहण चस्मा बिक्री भएर सकिएका थिए।

त्यसपछि मानिसहरूले सुरक्षित रूपमा ग्रहण हेर्न भान्सामा प्रयोग हुने प्वाल भएको छान्नी, सिरियलका बाकस र कागजका टुक्रा समेत प्रयोग गरे।

सूर्यग्रहण कसरी हुन्छ?
सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट गुज्रिन्छ। त्यस क्रममा चन्द्रमाले सूर्यको केही वा सम्पूर्ण प्रकाश छेक्छ र पृथ्वीमा आफ्नो छाँया पार्छ।

समय बित्दै जाँदा चन्द्रमाले सूर्यको अझ ठूलो भाग ढाक्दै गएको थियो। दृश्य यस्तो थियो, मानौँ कसैले सूर्यको उज्यालो बिस्तारै कम गर्ने डिमर स्विच घुमाइरहेको होस्। बेलायतबाट हेर्दा सूर्य, चन्द्रमा र पृथ्वी पूर्ण रूपमा एउटै सीधा रेखामा थिएनन्।

चिलीकी एक वैज्ञानिक यास्मिन कात्रिचेओ यो दुर्लभ घटना हेर्न हजारौँ किलोमिटर यात्रा गरेर उत्तर-पश्चिमी स्पेनको ए कोरुन्या पुगेकी थिइन्।

उनले भनिन्, ‘पूर्ण ग्रहणको क्षणमा सबैजना खुसीले चिच्याइरहेका थिए र हामीले देखिरहेको दृश्यको उत्साह एकअर्कासँग बाँडिरहेका थियौँ। त्यो अनुभूति शब्दमा बयान गर्न सकिँदैन। ब्रह्माण्ड अद्भुत छ।’

पूर्ण सूर्यग्रहण पृथ्वीको कुनै न कुनै स्थानमा करिब हरेक १८ महिनामा एकपटक हुने गर्छ। तर एउटै स्थानबाट पूर्ण सूर्यग्रहण देखिनु निकै दुर्लभ हुन्छ। सामान्यतया करिब ४०० वर्षमा एकपटक मात्र यस्तो अवसर आउँछ।

त्यसैले स्पेनमा पूर्ण ग्रहणको मार्गमा रहेका मानिसहरूले अत्यन्त दुर्लभ दृश्य हेर्न पाए। चन्द्रमाको कालो आकृतिको पछाडिबाट सूर्यको रातो चमक देखिएको थियो। अँध्यारो आकाशमा देखिएको त्यो उज्यालो वास्तवमा सूर्यको कोरोना थियो। कोरोना सूर्यबाट हजारौँ किलोमिटर बाहिर अन्तरिक्षतर्फ फ्याँकिएका अत्यन्त तातो ग्यासका धाराहरू हुन्।

ध्यानपूर्वक हेर्नेहरूले सूर्यको अशान्त चुम्बकीय क्षेत्रसँगै फैलिएका प्रोमिनेन्स भनिने गुलाबी रङका साना ग्यासका घुम्तीसमेत देख्न सकेका थिए। त्यसपछि चन्द्रमा बिस्तारै सूर्यलाई पुनः देखिन दिने गरी अघि बढ्यो।

पूर्ण सूर्यग्रहण दुई मिनेटभन्दा कम समय मात्र रह्यो, तर त्यसलाई प्रत्यक्ष अनुभव गर्ने धेरैका लागि त्यो क्षण जीवनभर नभुल्ने स्मृति बन्यो। पृथ्वीबाट पूर्ण सूर्यग्रहण देखिनु आफैँमा एउटा अविश्वसनीय ब्रह्माण्डीय संयोग हो।

सूर्य पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा छ, जुन चन्द्रमाभन्दा पृथ्वीबाट करिब ४०० गुणा बढी दूरी हो। तर चन्द्रमाको व्यास सूर्यको भन्दा करिब ४०० गुणा सानो भएकाले पृथ्वीबाट हेर्दा सूर्य र चन्द्रमा आकाशमा लगभग एउटै आकारका देखिन्छन्।

यदि चन्द्रमा अलिकति मात्र सानो भएको भए वा यसको कक्षा पृथ्वीबाट अलिकति टाढा भएको भए, पृथ्वीबाट हामीले कहिल्यै पूर्ण सूर्यग्रहण देख्न पाउने थिएनौँ।

२०२६ देखि २०२८ सम्म सूर्यग्रहणको ‘स्वर्णिम युग’
अब २०२६ देखि २०२८ सम्म पूर्ण सूर्यग्रहणको ‘स्वर्णिम युग’ मा प्रवेश गर्न लागेको वैज्ञानीकहरुले बताएका छन्। ग्रहणको पछिपछि संसार घुम्ने उत्साहीहरूले आगामी केही वर्षभित्रै तीनवटा पूर्ण सूर्यग्रहण प्रत्यक्ष हेर्ने अवसर पाउने छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट