Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘गुरुकुल एसईई फुटसल कप’को उपाधि अमर माविलाई

‘गुरुकुल एसईई फुटसल कप’को उपाधि अमर माविलाई

चितवन : भरतपुर महानगरपालिका–९ स्थित गुरुकुल कलेजको आयोजनामा सम्पन्न ‘गुरुकुल एसईई फुटसल कप’को उपाधि पटिहानीस्थित अमर माध्यमिक विद्यालयले जितेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा रामपुरको कमलदेवी आवासीय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै अमर मावि च्याम्पियन बनेको हो। खेलको निर्धारित समयमा अमर माविका पर्वत गागामगरले गरेको एक मात्र गोल नै निर्णायक साबित भयो।
सेमिफाइनलतर्फ अमर माविले ने.रा.स. मावि गैँडाकोटलाई पराजित गरेको थियो भने कमलदेवी आवासीय माविले ग्रीनल्याण्ड आवासीय माध्यमिक विद्यालयलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
प्रतियोगितामा विजेता बनेको अमर माविले १५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता कमलदेवी आवासीय माविले १० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ अमर माविका पर्वत गागामगर उत्कृष्ट खेलाडी घोषित भए। सात गोलसहित ने.रा.स. मावि गैँडाकोटका नितेश गुरुङ उत्कृष्ट गोलकर्ता बने भने कमलदेवी आवासीय माविका लभ तामाङ उत्कृष्ट गोलकिपर घोषित भए। उनीहरूले जनही दुई–दुई हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
चितवनसहित विभिन्न जिल्लामा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै बैशाख ९ देखि ११ गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा ५७ टिमको सहभागिता रहेको गुरुकुल कलेजका कोअर्डिनेटर हरिहर भुसालले जानकारी दिए। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो।
कलेजले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने जनाएको छ। विद्यार्थीको अनुशासन र अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ।
प्रतियोगिता एन्फाका आधिकारिक रेफ्रीहरूद्वारा सञ्चालन गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा सह–प्राचार्य जे.एन. लामिछाने, निर्देशक प्रतिक ढकाल, कोअर्डिनेटर हरिहर भुसाल, सिर्जन अविरल, बिहानी कार्यक्रम संयोजक शुशिल रेग्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट