विराटनगर : मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्। दिउँसो ३ बजेसम्मको मत गणना परिणामअनुसार कांग्रेस, एमाले र माओवादी जस्ता स्थापित दलहरू रास्वपाभन्दा निकै पछाडि देखिएका छन्।
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने फराकिलो मतले सवै भन्दा अगाडि छन् । उनले ४ हजार ८७३ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ३,७०९ मतका साथ पछ्याइरहेकी छन्। नेपाली कांग्रेसका खड्ग बहादुर फागो २,३२३ मतसहित तेस्रो स्थानमा छन्।
मोरङ क्षेत्र नम्बर २ मा पनि रास्वपाका कृष्ण कुमार कार्की १,५२८ मतका साथ अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका नेकपा एमाले का दिलीप कुमार अग्रवालले ४५२ मत पाएका छन् भने नेपाली कांग्रेसका डा मिनेन्द्र रिजाल ३८३ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।
मोरङ क्षेत्र नम्बर ३ मा भने थोरै मतले रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । सो क्षेत्रमा रास्वपाका गणेश कार्की १,६५२ पाएका छन् । यो क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा कडा प्रतिस्पर्धा छ। श्रम संस्कृति पार्टीका अमिर मगर १,४८८ मतसहित दोस्रो र नेपाली कांग्रेसका सुनिल कुमार शर्मा १,४८२ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर ४ मा क्षेत्रमा रास्वपाका सन्तोष राजवंशीले विजय उन्मुख भएका छन् । उनले १४,७५८ मतका साथ भारी अग्रता लिएका छन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका अमन लाल मोदीले ४,३०६ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका गुरुराज घिमिरे ४,२२८ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर ५ रास्वपाकी उम्मेदवार आशा झा ५,१०५ मतका साथ पहिलो स्थानमा छिन्। दोस्रो स्थानमा जनता समाजवादी पार्टी जसपाका राज कुमार यादवले २,३५८ र तेस्रो स्थानमा नेकपाका शिव कुमार मण्डल १,८७३ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ६ मा रास्वपाकी रुविना आचार्य ९,५०४ मतका साथ निकै अगाडि छिन्। दोस्रो स्थानका लागि एमाले र श्रम संस्कृति पार्टीबीच तीव्र प्रतिस्पर्धा छ। श्रम संस्कृतिका मातृका पौडेल २,०२० मतसहित दोस्रो र एमालेका विनोद ढकाल २,००७ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उम्मेद्वार डा शेखर कोइराला चौथो स्थानमा झरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij