बागलुङ : सामाजिक सञ्जालमार्फत पुरुषहरूसँग चिनजान बढाउने, निजी कुराकानी तथा भेटघाटका गतिविधि रेकर्ड गर्ने र पछि तिनै सामग्री देखाएर आर्थिक दबाब दिने गरेको आरोपमा एक महिला प्रहरी अनुसन्धानको दायरामा परेकी छन्।बहुविवाहको कसुरमा पक्राउ परेकी करिब ३८ वर्षीया सोनु भन्ने सुनिता रोकामाथि फेसबुक, टिकटक र ह्वाट्सएपमा फरक–फरक नामका आईडी प्रयोग गरी पुरुषहरूसँग सम्बन्ध विस्तार गर्ने तथा च्याट, अडियो र भिडियो सुरक्षित राखेर पछि रकम माग्ने गरेको आरोप लागेको छ।
बागलुङ घर तथा माइती भई हाल चितवनको खैरहनी नगरपालिका–२, चैनपुरमा बस्दै आएकी रोकालाई जिल्ला प्रहरी कार्यालय बागलुङले २०८३ मंसिर ९ गते बहुविवाहको कसुरमा पक्राउ गरेको हो। उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार उनले निजी संवाद तथा भेटघाटका सामग्री देखाएर रकम माग्ने र मागअनुसार पैसा नदिए सामाजिक प्रतिष्ठामा आँच पुर्याउने वा झुट्टा मुद्दामा फसाइदिने धम्की दिने गरेको गुनासो छ। आफ्नो बैंक खातामा रकम जम्मा गर्न दबाब दिने गरेको आरोपसमेत छ।सेना, नेपाल प्रहरी, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, व्यापारी तथा सरकारी र गैरसरकारी निकायमा कार्यरत एक दर्जनभन्दा बढी व्यक्तिसँग सम्बन्धित गुनासा प्राप्त भएको बताइएको छ। प्रहरीका उच्च अधिकारी, कानुन व्यवसायी तथा पत्रकारहरूसँग आफ्नो पहुँच रहेको दाबी गर्दै व्यक्तिहरूलाई दबाब दिने गरेको आरोप पनि उनीमाथि छ।
विभिन्न मोबाइल फोन र आधा दर्जनभन्दा बढी सिमकार्ड प्रयोग गरी फरक–फरक नाममा सामाजिक सञ्जालका खाता सञ्चालन गर्ने गरेको विवरणसमेत अनुसन्धानका क्रममा आएको स्रोतले जनाएको छ।यद्यपि, उनीमाथि लागेका आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्। पक्राउ पर्नु मात्रै कसुर प्रमाणित हुनु होइन। घटनाको वास्तविकता डिजिटल प्रमाण, प्रहरी अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ। रोकाले यस अघि एक प्रहरी निरीक्षक लाई समेत यस्तै प्रकृतीको मुद्दा दर्ता गरेकी थिइन भने उनले अदालतबाट सफाइ पाई सकेका छ्न ।