Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

चितवनको टाइगर टप्स : जसले विश्वमा नेपाल चिनायो, आज आफैँ इतिहास बन्दै

चितवनको टाइगर टप्स : जसले विश्वमा नेपाल चिनायो, आज आफैँ इतिहास बन्दै

चितवन : कुनै समय विश्वका राष्ट्रपति, प्रधानमन्त्री, राजपरिवारका सदस्य र चर्चित सेलिब्रेटीहरूको रोजाइमा पर्ने नेपालको एउटा ऐतिहासिक होटल आफैँ इतिहास बन्ने अवस्थामा पुगेको छ। यो हो, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विश्वप्रसिद्ध टाइगर टप्स !नेपालको पर्यटन क्षेत्रको अग्रणी मानिने टाइगर टप्सको सुरुवात सन् १९६४ मा भएको थियो। बेलायती नागरिक जिम एडवर्ड्स र उनका साझेदारहरूले जम्मा चारवटा कोठाबाट यसको सुरुवात गरेका थिए। त्यतिबेला चितवन राष्ट्रिय निकुञ्ज स्थापना पनि भएको थिएन। निकुञ्ज स्थापना हुनुभन्दा एक वर्षअघि नै खुलेको टाइगर टप्सले नेपालमा जंगल सफारी पर्यटनको नयाँ इतिहास सुरु गर्‍यो।

सन् १९७२ मा जिम एडवर्ड्सले टाइगर टप्सको स्वामित्व लिएपछि यसको प्रचारप्रसार अन्तर्राष्ट्रियस्तरमा फैलियो। हात्ती सफारी, डुंगा सफारी, जीप सफारी र जंगल पर्यटनलाई विश्वमाझ चिनाउन यस होटलले महत्त्वपूर्ण भूमिका खेल्यो। सन् १९७४ देखि निकुञ्जभित्र टेन्टेड क्याम्पसमेत सञ्चालन गरिएको थियो।अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर, भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र राजीव गान्धी, पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो, बेलायती राजपरिवारका सदस्य, एडमन्ड हिलारी र तेन्जिङ नोर्गेजस्ता विशिष्ट व्यक्तित्वहरू यहाँका पाहुना बनेका थिए।टाइगर टप्सको लोकप्रियता यस्तो थियो कि पर्यटकले यहाँ बस्नका लागि दुई वर्षअघिदेखि नै बुकिङ गर्नुपर्ने अवस्था थियो। २० वटा कोठा र ६० वटा बेड रहेको यस होटलमा वार्षिक ६ हजारदेखि ८ हजारसम्म पर्यटक आउने गरेको होटल व्यवस्थापनको भनाइ थियो। करिब एक सय बिघा क्षेत्रमा फैलिएको यस होटलमा एक समय तीन सय जनाले रोजगारी पाएका थिए।तर आज अवस्था फेरिएको छ।

वन्यजन्तुको सुरक्षामा गम्भीर असर परेको निष्कर्षसहित सर्वोच्च अदालतको २०६९ सालको आदेशपछि चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित टाइगर टप्ससहितका होटलहरू बन्द भए।टाइगर टप्स बन्द भएपछि चितवनले महँगा र उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्ने एउटा महत्त्वपूर्ण गन्तव्य गुमाएको होटल व्यवस्थापनको दाबी छ। तर अर्कोतर्फ राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन गर्दा वन्यजन्तु र वातावरणमा पर्ने असरको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।टाइगर टप्स केवल एउटा होटल थिएन। यो नेपालको जंगल सफारी पर्यटनको सुरुवात, चितवनको अन्तर्राष्ट्रिय पहिचान र सयौँ नेपालीको रोजगारीसँग जोडिएको इतिहास थियो। कुनै समय विश्वलाई नेपाल चिनाएको टाइगर टप्स आज आफैँ संरक्षणको पर्खाइमा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट