सौराहा, चितवन : लन्डनदेखि अस्ट्रेलियाको सिड्नीसम्म साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा सहभागी सम्पूर्ण टोली सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटकीय वातावरण र आतिथ्यताको अनुभव लिएको हो ।

सन् २०१२ मा सुरु भएको राइड २५ अभियानले विभिन्न देश हुँदै लन्डनदेखि सिड्नीसम्मको अन्तर्राष्ट्रिय साइकल यात्रा विभिन्न चरणमा पूरा गर्दै आएको छ । अभियानअन्तर्गत प्रत्येक वर्ष एउटा चरण अर्थात् ’लेग’ पूरा गर्ने गरिन्छ । टोलीले सन् २०२५ नोभेम्बरमा भारतको जैसलमेरदेखि तिजारासम्मको यात्रा पूरा गर्दै १४औँ चरण सम्पन्न गरेको थियो । त्यसपछि सन् २०२६ नोभेम्बर १५ देखि भारतको तिजाराबाट सुरु भएको १५औँ चरणको यात्रा नेपाल हुँदै काठमाडौंसम्म अघि बढेको हो ।

सौराहास्थित रोयल ट्युलिप चितवनमा रहँदा अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित टोलीका सदस्यहरूले राइड २५ को सुरुवात, लामो समयसम्म विभिन्न देश हुँदै साइकल यात्रा जारी राख्नुको प्रेरणा र यात्राका क्रममा भोगेका अविस्मरणीय अनुभवबारे कुराकानी गरेका थिए ।
साइकल यात्रालाई साहसिक अभियानमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्नु राइड २५ को विशेषता हो । अभियानले प्रत्येक वर्ष २ लाख पाउन्डभन्दा बढी रकम परोपकारी कार्यका लागि संकलन गर्ने लक्ष्य राखेको छ । अफ्रिकामा बालबालिकाका लागि काम गर्दै आएका 1moreChild र Lyra in Africa संस्थालाई सहयोग पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । यात्रामा सहभागी साइकल यात्रीहरूले आफ्नो व्यक्तिगत खर्च आफैँ व्यहोर्ने भएकाले संकलित सहयोग रकम प्रत्यक्ष रूपमा परोपकारी कार्यमा खर्च हुने बताइएको छ ।

भारत हुँदै नेपाल प्रवेश गरेपछि टोलीले यहाँको भौगोलिक विविधता, प्राकृतिक दृश्य, सडक, स्थानीय समुदाय र संस्कृतिबारे आफ्नो अनुभवसमेत साटेको थियो । उनीहरूले नेपाललाई अन्तर्राष्ट्रिय साइकल पर्यटन तथा साहसिक पर्यटनका लागि राम्रो सम्भावना भएको गन्तव्यका रूपमा चर्चा गरेका थिए ।

विशेषगरी चितवन र सौराहाजस्ता पर्यटकीय क्षेत्रले अन्तर्राष्ट्रिय साइकल यात्री तथा समूहलाई आकर्षित गर्न सक्ने सम्भावनाबारे टोलीले धारणा राखेको थियो । होटल, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य हुन सके नेपालमा साइकल पर्यटनको थप विकास गर्न सकिने विषयमा समेत छलफल भएको थियो । नेपाललाई हिमालका लागि मात्र नभई वन, वन्यजन्तु, संस्कृति र प्राकृतिक सौन्दर्यका लागि पनि अन्तर्राष्ट्रिय पर्यटकमाझ चिनाउनुपर्ने विषयमा उनीहरूले जोड दिएका थिए ।

सौराहाको बसाइका क्रममा टोलीले रोयल ट्युलिप चितवनको आतिथ्यता, सेवा सुविधा र आसपासको पर्यटकीय वातावरणको अनुभव लिएको थियो । यस अवसरमा रोयल ट्युलिप चितवनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले राइड २५ का सहसंस्थापकद्वय तथा सम्पूर्ण टोलीलाई १५औँ चरणको साहसिक साइकल यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले साइकल यात्रालाई परोपकारी अभियानसँग जोडेर निरन्तरता दिएकोमा टोलीको प्रयासको प्रशंसा गरेका थिए ।

सौराहाको भ्रमण तथा बसाइपछि राइड २५ को सम्पूर्ण टोली १५औँ चरणको यात्रालाई निरन्तरता दिँदै काठमाडौंका लागि प्रस्थान गरेको थियो । टोलीले नोभेम्बर २२, २०२६ मा काठमाडौं पुगेर भारतको तिजाराबाट सुरु भएको १५औँ चरणको साइकल यात्रा सफलतापूर्वक पूरा गरेको हो ।

विभिन्न देश र भूगोल पार गर्दै अघि बढिरहेको राइड २५ अभियानले साहसिक साइकल यात्रासँगै परोपकारी सहयोग र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको सन्देशसमेत फैलाउँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij