भरतपुर : भरतपुर महानगरपालिकाका छ वटा मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइट सञ्चालनमा आएका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा ट्राफिक लाइटको उद्घाटन गर्नुभएपछि ती लाइट सञ्चालनमा आएका हुन् ।सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाको करिब एक करोड १० लाख रुपियाँ लगानीमा ट्राफिक लाइट जडान गरिएको चितवनका ट्राफिक प्रमुख अनिल थापाले बताउनुभयो । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले व्यस्त तथा मुख्य चोकमा आधुनिक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
हाल पुलचोक, सहिदचोक, हाकिमचोक, चौबीसकोठी, केन्द्रीय बसपार्क र मालपोत चोकमा ट्राफिक लाइट सञ्चालनमा आएका छन् ।चितवनमा पहिलो पटक यस प्रकारका ट्राफिक लाइट जडान गरिएको सडक विभागले जनाएको छ । सडकमा सवारीसाधनको चाप, पैदलयात्रीको आवागमन तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन जडान गरिएका यी बत्ती आवश्यकता अनुसार सञ्चालन गर्न सकिने प्रविधियुक्त छन् ।सडकको अवस्था र सवारीसाधनको चापअनुसार बत्ती बल्ने, निभ्ने तथा आवश्यकताअनुसार समय निर्धारण गर्न सकिने व्यवस्था गरिएको सडक विभागले जनाएको छ ।
काउन्टर प्रणालीमा आधारित यी आधुनिक लाइटले सीधा, दायाँ र बायाँ मोड्ने सवारीसाधनका साथै पैदलयात्रीलाई समेत स्पष्ट सङ्केत प्रदान गर्नेछन् । यी लाइटको सञ्चालन र अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षबाट कम्प्युटर प्रविधिको सहायताले गरिने छ । कुन चोकमा कति सेकेन्ड बत्ती बाल्ने भन्ने विषयको नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रमुख थापाले बताउनुभयो ।त्यस्तै, जडान गरिएका लाइटको नियमित मर्मतसम्भारको जिम्मेवारी डिभिजन सडक कार्यालय चितवनलाई दिइएको सडक विभागले जनाएको छ । विशेषगरी व्यस्त समयमा सवारी आवागमन व्यवस्थित गर्न, अनावश्यक जाम कम गर्न र पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।कार्यक्रमका अवसरमा ट्राफिक प्रहरी र विद्यालयस्तरका विद्यार्थीले सडकमा यात्रु तथा सवारीचालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना पनि गराएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij