Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

भूमि प्रशासन सेवा सुरु गर्न चितवनका पालिकालाई सकस, कालिका अगाडि, भरतपुर अन्तिम तयारीमा

भूमि प्रशासन सेवा सुरु गर्न चितवनका पालिकालाई सकस, कालिका अगाडि, भरतपुर अन्तिम तयारीमा

भरतपुर : भरतपुर महानगरपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा महानगरबाटै प्रवाह गर्ने तयारी अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।गत कार्तिक १६ गते मन्त्रालयले पालिकालाई पत्र पठाएर भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम चितवनको कालिका नगरपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा सुरू गरिसकेको छ । भरतपुर महानगर भूमि प्रशासनसम्बन्धी सेवा दिनका लागि अन्तिम तयारीमा जुटेको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले जानकारी दिए ।

‘लगभग सबै तयारी अन्तिममा पुगेको छ, भवनको स्थलगत निरीक्षण गरी सबै व्यवस्थापन गरिसक्यौँ, अब केही दिनमै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याउने छौँ’, कार्यवाहक प्रमुख अधिकारीले भने ।सेवा स्थानीयस्तरबाटै उपलब्ध भएपछि नागरिकले भूमि प्रशासनसम्बन्धी कामका सेवा लिन थप सहज, सरल, छरितो र नागरिकमैत्री हुने प्रमुख अधिकारीले बताए । उनका अनुसार भरतपुर महानगरपालिकाले २०८३ वैशाख १४ गते नै मन्त्रालयलाई सेवा सञ्चालनका लागि आशयपत्र पठाएको थियो ।मन्त्रालयको भूमि व्यवस्था शाखाले कात्तिक १६ गते पत्राचार गर्दै मालपोतसम्बन्धी कानुनी व्यवस्थाअनुसार स्थानीय तहबाटै भूमि प्रशासनका सेवा सञ्चालन गर्न निर्देशन गरे पनि चितवनका अन्य पाँच पालिकाहरुले यससम्बन्धी सामान्य तयारी मात्र गरेका छन् । मन्त्रालयले तोकेको समयमा भूमि प्रशासनसम्बन्धी सेवा दिन चितवनका अन्य पालिकाहरुलाई सकस पर्ने देखिन्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०८३ कात्तिक १६ गतेको परिपत्रअनुसार चितवनका बाँकी स्थानीय तहले २०८३ मङ्सिर १६ गतेभित्र अनिवार्यरुपमा भूमि प्रशासन सेवा सुरू गर्नुपर्ने समयसीमा तोकिएको छ । मन्त्रालयका अनुसार स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय २०८३ वैशाख १० गते गरिएको थियो ।हालसम्म २२५ स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न आशयपत्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । तीमध्ये नौ उपमहानगरपालिका, २० नगरपालिका र १२ गाउँपालिका गरी ४१ स्थानीय तहबाट सेवा सञ्चालन भइरहेको छ । कालिका नगरपालिका सेवा सञ्चालन गर्ने चितवनको पहिलो पालिका हो ।

चितवनका कुल ७ स्थानीय तहमध्ये कालिका नगरपालिकाले २०८३ साउन १४ गतेदेखि नै ‘भूमि व्यवस्थापन शाखा’ स्थापना गरी नापनक्सा, लिखत पारित र लालपुर्जा वितरणसम्बन्धी सेवा सुरू गरिसकेको छ । भरतपुर महानगरपालिकाको अब केही दिनमै सेवा सुरू गर्ने अन्तिम तयारी छ । अन्य रत्ननगर, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सरकारी परिपत्रअनुसार सेवा विस्तारको सामान्य प्रक्रिया मात्र अघि बढेको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ का आधारमा मालपोत ऐन, २०३४ मा गरिएको संशोधनले भूमि प्रशासनसम्बन्धी केही काम स्थानीय तहबाट समेत गर्न सकिने व्यवस्था गरेको मन्त्रालयले स्पष्ट पारेको छ ।स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा विस्तार गर्ने यो निर्णय कार्यान्वयन भएमा नागरिकले सम्बन्धित स्थानीय तहबाटै कानुनले तोकेका भूमि प्रशासनका सेवा प्राप्त गर्ने व्यवस्था विस्तार हुनेछ ।स्थानीय पालिकामा भूमिसम्बन्धी प्रशासनको सेवा पुगेमा जग्गापास (लिखत पारित), नामसारी, दाखिल खारेज, रोक्का÷फुकुवा र नक्सासम्बन्धी कामका लागि जिल्ला सदरमुकाम वा मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हट्छ । सेवाग्राहीको यातायात खर्च, बसाइँ खर्च र अनावश्यक समय बचत हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij