Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

समयमै काम नगरेपछि सिन्धुली–कटारी सडकको ठेक्का तोड्ने चेतावनी

समयमै काम नगरेपछि सिन्धुली–कटारी सडकको ठेक्का तोड्ने चेतावनी

काठमाडौँ : बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का नम्बर पीआरडीओ-एसआईएन/डब्लु/एनसीबी/१५/०७८–७९ को जिम्मा पाएको निर्माण कम्पनी ‘कन्टेक–जयी–जय शम्भु जेभी’  नयाँ बानेश्वर काठमाडौँलाई १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको हो ।

सूचना अनुसार, उक्त सडकको चेनेज १८+३२० देखि २७+३६० सम्म  स्तरोन्नतिको कामका लागि निर्माण व्यवसायीसँग वि.सं. २०७९ जेठ १७ गते ठेक्का सम्झौता भएको थियो । सुरुवाती सम्झौतापछि दुई पटक म्याद थप गरी २०८२ फागुन २७ गतेसम्म समय दिइएको भए पनि काम पूरा भएन । साथै, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का सम्झौता बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लाग्ने २०० दिनको अतिरिक्त अवधिमा समेत काम सम्पन्न नभएको कार्यालयले जनाएको छ ।कार्यालयबाट कामका लागि पटक–पटक ताकेता गर्दा समेत अपेक्षित प्रगति हासिल नभएको र यसअघि पत्राचार गरी स्पष्टीकरण माग गर्दा पनि निर्माण व्यवसायीले कुनै चित्तबुझ्दो जवाफ पेस नगरेको सूचनामा उल्लेख छ ।

तसर्थ, ठेक्का सम्झौता अन्त्य गर्नु नपर्ने कुनै मनासिब कारण भएमा चित्तबुझ्दो स्पष्टीकरणसहित १५ दिनभित्र निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि कुशल कुमार शर्मा स्वयं कार्यालयमा उपस्थित हुन सूचित गरिएको छ ।तोकिएको समयभित्र उपस्थित नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताकोको गम्भीर उल्लङ्घन  तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २(क) र उपदफा ७ बमोजिम ठेक्का सम्झौता अन्त्य गरी सम्पूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।

image

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट